काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँस्थित एक घरमा लागुऔषध लुकाइराखेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।बुधबार साँझ नेपाल प्रहरी अपराध अनुसन्धान ब्युरो र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले श्याम खलेडाको तीनतले पक्की घरको दोस्रो तल्लामा चेकजाँच गर्दा सो लागुऔषध फेला परेको हो।
प्रहरीको टोलीले सिन्धुली रानीचुरी गाउँपालिका–३ घर भई हाल वेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाइजापाम ५४ पिस र नोरफिन ५४ पिस गरी जम्मा १६२ एम्पुल लागुऔषध बरामद गरेको हो।पेम्बा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि प्रहरी प्रभाग गोकर्णमा पठाइएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।