काठमाडौं, काठमाडौंको टोखा नगरपालिका–९, गोंगबु दीपज्योतीस्थित टिनको छाप्रोमा बस्दै आएका चार जनालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८२ साल कार्तिक १९ गते दिउँसो करिब १५:०० बजे प्रहरीले प्राप्त सूचनाका आधारमा प्रभाग गोंगबुबाट खटिएको टोलीले उक्त क्षेत्रको डेरा कोठामा छापा मारेको थियो। प्रहरीको चेकजाँचका क्रममा निरज लामाको कोठाबाट गलैचा मुनि लुकाइराखिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ०.५७ ग्राम र बिना प्लास्टिक ०.५० ग्राम रहेको प्रहरीले जनाएको छ। साथै, लामाले प्रयोग गर्दै आएको बा.६४ प ६९८६ नम्बरको स्कुटरको डिक्कीमा डिजिटल तराजु थान–१ पनि फेला परेको छ। पक्राउ पर्नेहरूमा– १. निरज लामा (३२ वर्ष), काभ्रेपलाञ्चोक रोशी गा.पा.–५ घर, हाल ललितपुर सानोगाउँ। २. सुजल विश्वकर्मा (२८ वर्ष), सुनसरी धरान उपमहानगर–१५ घर, हाल गोंगबु दीपज्योती। ३. बिदुर याङ्बो (३१ वर्ष), झापा शिवसताक्षी नगरपालिका–९ घर, हाल तारकेश्वर नगरपालिका मनमैजु। ४. रोमन राई (१९ वर्ष), भोजपुर रिमझिम घर, हाल तारकेश्वर नगरपालिका काभ्रेस्थली। उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग गोंगबुमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।