वासिङटन । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।
सरकारी कार्यक्रमहरू ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ । हाल १४ लाखभन्दा बढी सङ्घीय कर्मचारी — एयर ट्राफिक कन्ट्रोलरदेखि राष्ट्रिय पार्कका वार्डनसम्म — तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन् । मध्यरातमा रेकर्ड तोडिनुअघि नै ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रूपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको थियो । कर्मचारीहरूको अभावका कारण देशका प्रमुख विमानस्थलहरूमा लामो पङ्क्ति र सम्भावित उडान रद्द हुने स्थिति देखिएको छ ।
‘यदि डेमोक्रेटहरूले अहिले समाधान खोजेनन् भने एक हप्ताभित्र देशव्यापी हवाई अराजकता देख्न सकिनेछ’, यातायातमन्त्री सीन डफीले फिलाडेल्फियामा भने, ‘हामीसँग आवश्यक सङ्ख्यामा नियन्त्रक नभए हवाइ क्षेत्रका केही भागहरू बन्द गर्नुपर्ला ।’
अमेरिकी अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार यस वर्षको थ्यांक्सगिभिङमा ५८ लाख नागरिकले हवाई यात्रा गर्ने अनुमान छ — जुन नयाँ रेकर्ड हुनेछ । तर ६० हजारभन्दा बढी हवाई यातायात नियन्त्रक र ट्रान्सपोर्ट सुरक्षा अधिकारीहरू तलब बिना काममा निरन्तर खटिँदा सेवा प्रभावित हुने जोखिम बढेको छ । सन् २०१९ मा भएको यस्तै शटडाउन अन्त्य गराउन पनि हवाई कर्मचारीहरूको सामूहिक बिरामी विदा निर्णायक बनेको थियो । शटडाउनको मूल कारण भनेको स्वास्थ्य सेवासम्बन्धी खर्च हो । डेमोक्रेटहरू लाखौँ अमेरिकीका लागि स्वास्थ्य बीमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन् । तर रिपब्लिकनहरू स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले नै सरकारी कार्य पुनः सुरु गर्न दबाब दिइरहेका छन् ।
यद्यपि, पछिल्ला दिनहरूमा केही मध्यमार्गी सांसदहरूले समाधानको संकेत देखाएका छन् । दुई पार्टीका चार प्रतिनिधिले स्वास्थ्य बीमा लागत घटाउने उद्देश्यसहित सोमबार एउटा प्रारम्भिक समझदारी ढाँचा सार्वजनिक गरेका छन् । डेमोक्रेटहरूले अमेरिकी नागरिकहरूले नयाँ वर्षका लागि स्वास्थ्य बीमा लिन खोज्दा बढ्दो प्रिमियमको सामना गरेपछि रिपब्लिकनहरू सम्झौता गर्न बाध्य हुनेछन् भन्ने आशा गरेका छन् । तर राष्ट्रपति ट्रम्प भने अझै अडिग देखिनुहुन्छ । रासस/एएफपी