काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५२ करोड ३२ लाख ५४ हजार आठ सय रुपैयाँबराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोहीअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई दुई करोड ६१ लाख ६२ हजार सात रुपैयाँबराबरको दुई लाख ६१ हजार छ सय २७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई चार करोड ९७ लाख नौ हजार दुई सय रुपैयाँबराबरको चार लाख ९७ हजार ९२ कित्ता बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा यही कात्तिक १९ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको हो । सोअनुसार कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि एक लाख ४९ हजार एक सय २७ कित्ता र सामूहिक लगानी कोषका लागि दुई लाख ४८ हजार पाँच सय ४६ कित्ता साधारण सेयर सुरक्षित गरी बाँकी ४० लाख ७६ हजार एक सय ५६ कित्ता साधारण सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।
लगानीकर्ताहरुले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । साधारण सेयर खरिदको लागि यही कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।