काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि नेशनल पेमेन्ट स्वीचमा जोडिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र एनसीएचएलबीच एनपीएस (नेसनल पेमेन्ट सिस्टम) अन्तर्गतको नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतासँगै बैंकले नेपालपे कार्ड अक्वायर र इस्यु गर्नसक्ने भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ÷पीएसपी र सयभन्दा बढी गैरबैंकिङ सदस्यहरूसँग काम गर्दै राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।