काठमाडौं । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ ।
नोभेम्बर ४ देखि ६ तारिखसम्म लन्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ । नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यवसायिक कम्पनीहरू– टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन् ।
नेपालले यस मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ को रूपमा पुनःस्थापित गर्न लक्ष्य राखेको छ ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरि प्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको नेतृत्व नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन् । अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य भएको बताए । अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू र समुदाय–आधारित संरक्षण कार्यक्रमहरूद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्ने बताए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जोशीले भने नेपाललाई जीवनभर सम्झनलायक गन्तव्यको रुपमा पुनस्र्थापित गर्ने बताए । उनले नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित रहेको उल्लेख गरे । ‘डब्ल्यूटीएम लण्डनमा हाम्रो सहभागिताले आगन्तुक आगमनवृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढीकरणमा निर्णायक भूमिका खेल्नेछ’, उनले भने । नेपालमा विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिने बताए ।
डब्ल्यूटीएममा रहेको नेपाल पविलियनमा (स्टल नम्बर एन–१२–५११) ‘जहाँ प्रकृति, संस्कृति र संरक्षणमा मिलन हुन्छ’ भन्ने नारा दिएर नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवम् आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू, र सामुदायिक पर्यटनका पहलहरूका दृश्यात्मक र अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू भइरहेका छन् ।