काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो सेयर सूचीकृत गर्दै १४ दशमलव ३ अर्ब हंगकंग डलर (करिब एक दशमलव आठ अर्ब अमेरिकी डलर) जुटाएको छ ।
कम्पनीले सेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो । आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब एक सय आठ दशमलव छ लाख कित्ता सेयर प्रति शेयर १३१ दशमलब ५० हंगकंग डलरमा बिक्री गरेको बताएको छ । यसमा अतिरिक्त ८ दशमलब ४ लाख शेयर पनि समावेश छन्, यसले प्रस्तावित शेयर संख्यामा करिब ८ दशमलब ४ प्रतिशतले वृद्धि गरेको छ । लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५ दशमलब १९ युआनभन्दा २२ प्रतिशत कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन् ।
सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन् । यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो । हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ । सेरेसको स्थापना सन् १९८६ मा भएको हो । सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गथ्र्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्यो । हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदै गएको कम्पनीले जनाएको छ । ब्लुमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२ प्रतिशतले बढेर १० दशमलव दुई अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ । सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्तरूपमा सम्हालेका छन् ।