काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जेन–जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि दुई दशमलव एक प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण सच्याउन आग्रह गरेको छ ।
काठमाडौंको चेम्बर भवनमा चेम्बर र विश्व बैंक समूहबीच आयोजित छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले विश्ववैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै पुनरावलोकनका लागि आग्रह गरेका हुन् । उनले आन्दोलनपछि अर्थतन्त्रमा असर पारे पनि निजी क्षेत्रको मनोबल उच्च रहेको बताए । प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको उल्लेख गर्दै उनले देशमा भएका अथाह प्राकृतिक स्रोतहरुको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिने बताए ।
नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितताजस्ता सवल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधिजन्य वनस्पतिजस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरुमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरुले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए ।
विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवद्र्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।