काठमाडौं । विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका १४ जना नेपाली नागरिकलाई म्यानमारको म्यावडीस्थित अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार गरी नेपाल फर्काइएको छ ।
नेपाली राजदूतावास बैंककका अनुसार म्यानमार र थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वयमा उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरूलाई थाइल्यान्डको टाक प्रान्तको मेसोटस्थित अध्यागमन कार्यालय हुँदै नेपाल एयरलाइन्सको उडान (आरए४०२) मार्फत बुधबार नेपाल पठाइएको दूतावासले जनाएको छ ।
राजदूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीलाई समेत उद्धार गरी नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ । गत अक्टोबर १९ पछि म्यानमारको म्यावडीमा रहेका विभिन्न अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूबाट २८ देशका करिब दुई हजार बढी विदेशीहरू थाइल्यान्ड प्रवेश गरेका थिए । तीमध्ये ३८ जना नेपाली रहेका र उनीहरूलाई पनि नेपाल फर्काउने तयारी भइरहेको राजदूतावासले जनाएको छ ।
राजदूतावासले नेपाली नागरिकलाई श्रम स्वीकृतिविना वैदेशिक रोजगारीमा नजान र छिटो कमाइको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार वा थाइल्यान्डजस्ता देशमा नपस्न आग्रह गरेको छ ।