नेपाल कृषिप्रधान देश हो । कृषि र पर्यटनको मात्र राम्रो विकास भएमा आमूल परिवर्तन सबै क्षेत्रमा ल्याउन सकिन्छ तर नेपालको व्यापारिक अवस्था आजको दिनमा खस्किँदो दिशातिर उन्मुख भएको देखिन्छ । उत्पादन र लगानीका क्षेत्रहरूमा सक्रियता घट्दै गएको छ भने उद्योग–व्यवसायहरू संकटमा परेका छन् । आर्थिक गतिशीलताको प्रमुख स्रोत नै व्यापार र उद्योग हो, तर अहिले त्यसमा उदासीनता, अस्थिरता र अनिश्चितताको वातावरण फैलिएको छ । यसले सम्पूर्ण राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ । न त जनतामा आशा थपिएको छ न त रोजगारीको अवसरमा वृद्धि भएको छ । यसले युवा पलायन तथा व्यापार घट्दा बढ्दै गएको छ । नेपालको व्यवसाय दिनप्रतिदिन खस्किँदो अवस्थामा छ । उद्योग–धन्दाको विकास हुनुपर्नेमा झन्–झन् धेरै उद्योगहरू बन्द भएका छन्, दिनप्रतिदिन व्यवसाय फस्टाउँदै जानुपर्नेमा व्यापार घाटा पनि बढ्दै गएको छ । नयाँ–नयाँ लगानीकर्ता थपिनुपर्नेमा पुँजी पलायनको खतरा बढेको छ । विदेशी लगानी भित्र्याई देशमा ठूला–ठूला आयोजनाहरूको विकास गर्नुपर्नेमा देशकै व्यापारीमा निराशाको अवस्था आएको छ र देशमा लगानी हुनुपर्ने पुँजी उचित मात्रामा लगानी नभई बैंकमा थुप्रिएको र पुँजी पलायन रोकिनुपर्नेजस्ता कार्यहरू हुनुपर्नेमा दिनप्रतिदिन अवस्था बिग्रँदै गएको देखिन्छ ।
अब राज्य चलाउनेहरूले व्यवसायीको मनोबल उच्च राखिनुपर्छ, ग्रामीण विकासमा लक्ष्य हासिल हुनुपर्छ, कृषि क्रान्ति हुनुपर्छ, औद्योगीकरणमा जोड दिनुपर्छ, नयाँ–नयाँ प्रविधि भित्र्याई ठूला उद्योगहरूको विकास गर्नुपर्छ, तर व्यवसायीलाई आक्रमण गरी निजी व्यवसायीमाथि हमला भई व्यवसायीको व्यवसायमाथि आक्रमण गरिँदा आज देशको हालत झन्झन् बिग्रँदो अवस्थामा पुगेको छ । न यसले राम्रो सन्देश दिएको छ न त जनता नै खुसी छन् । यसले डर र त्रासको वातावरण सिर्जना गरेको छ । देश त लगानीमैत्री हुनुपर्छ । हुँदा–हुँदा नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालका बैंकहरूमा ठूलो मात्रामा निक्षेपको वृद्धि भइरहेको, दिनप्रतिदिन ब्याजको समायोजन गरी बचतमा न्यूनतम मात्र ब्याज प्रदान गरिएकाले देशमा लगानीको क्षेत्रमा कमी आएको र नयाँ व्यवसायको थालनी नभएको स्पष्ट हुन्छ । यो कदापि राम्रो संकेत होइन । कसैले व्यवसाय गर्छ भने उसलाई प्रोत्साहन गर्नुपर्छ । कर्जा सहज हुनुपर्छ, लगानीमैत्री वातावरण बनाउनुपर्छ । व्यवसायी र सरकार हातेमालो गर्दै निजी क्षेत्रलाई अगाडि बढाउँदै सहकार्य गर्नुपर्छ । व्यवसायमाथि आक्रमण गर्नु, व्यवसायीलाई सहजरूपमा व्यवसाय गर्नमा बाधा पुर्याउनु, राज्यस्तरबाट व्यवसायीको पीर–मर्का नबुझ्नु राज्यको कमजोरी हो । देशकै व्यवसायीको कुनै सुरक्षा राज्यले दिन सक्दैन भने विदेशी लगानी कसरी भित्रिन्छ ? पहिले बरु विकास क्षेत्रमा औद्योगिक क्षेत्रहरूको विकास गरिएको थियो, तर ती आज माटोमा मिलेका छन् ।
आज काठमाडौं उपत्यकालगायत हरेक ठूला सहरहरूमा तीव्ररूपमा बढेको सहरीकरणले देशभर अव्यवस्थित सहरको रूपमा चिनिन थालेको अवस्था आएको छ र बसाइँसराइ पनि तीव्ररूपमा सहर–केन्द्रित भएको अवस्थामा समेत व्यापार र व्यवसाय नफस्टाउनु, विभिन्न ठाउँमा रहेका व्यवसायलाई पनि उचित व्यवस्था नहुनू, ठूला र मध्यम तथा ग्रामीण भेगमा समेत गर्न सकिने व्यवसाय नहुनुको साथै स्थानीयरूपमा गर्न सकिने सानातिना व्यवसाय नगर्नु, बैंकिङ क्षेत्रबाट पनि साना लगानीकर्तालाई उचित तरिकाले ऋण नदिइएकाले आज देशले दुर्गति भोग्नुपर्ने अवस्था आएको छ । सहर अव्यवस्थित भएको बेला निजी क्षेत्रबाट गरिनुपर्ने योजना र सहरलाई उकुसमुकुसबाट बाहिर निकाल्नुपर्ने योजना पनि आजको दिनसम्म देखिएको छैन । सहरलाई व्यवस्थित गरी सवारीसाधनको व्यवस्था उचितरूपमा गरी प्रदूषणमुक्त र ध्वनिरहित सवारीसाधनको व्यवस्था आजसम्म पनि गर्न नसक्नु भनेको निजी क्षेत्रलाई व्यवसायमा नलगाएको भन्ने बुझिन्छ र भविष्यलाई राम्रो आकांक्षा नगरेको बुझिन्छ ।
नेपालको व्यवसायको वर्तमान अवस्था केही वर्षअघि काठमाडौं उपत्यकाका नेवारी बस्तीहरूमा समेत कपडा बुन्ने, ऊनी धागो कत्नेजस्ता साना तथा मध्यम उद्योगहरू थिए । पास्मिना उद्योगलगायत कपडा उद्योग, गार्मेन्ट्स र कार्पेट उद्योग समेत धेरै थिए । त्यसैले नेपालमा विगतका वर्षहरूमा उद्योग र व्यापारको राम्रो सम्भावना रहेको देखिन्थ्यो । कृषिमा आधारित देश भएकाले कृषि उपजमा आधारित उद्योगहरू र साना उद्यमहरू विस्तार हुने पनि आशा थियो । तर अहिलेको अवस्थाले ती अपेक्षाहरूलाई धमिलो बनाइदिएको छ । उद्योग र व्यापारको विकास हुनुपर्ने ठाउँमा मन्दी बढ्दै गएको छ । उद्योग–धन्दा विस्तार हुनुपर्नेमा साना उद्योग त पूरै बन्द हुँदै गएका छन्, व्यवसाय तीव्र गतिमा अगाडि बढ्नुपर्नेमा स्थिर भएका छन् र नयाँ लगानीकर्ताहरू थपिनुपर्नेमा हतोत्साहित भएका छन् । देशको आर्थिक समृद्धिको प्रमुख आधार उद्योग र लगानी नै हो । तर अहिले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न डर मानिरहेका छन् । लगानीका लागि आवश्यक नीतिगत स्थायित्व, पारदर्शिता र सुरक्षाको वातावरण अभाव छ । देशमा पुँजी पलायन बढ्दै जानु, विदेशी लगानीमा घट्दो रुचि, र उद्योगी–व्यवसायीमा निराशा— यी सबै मिलेर नेपालको आर्थिक धरातललाई कमजोर बनाइरहेका छन् । अझ हालै भएका आन्दोलनले उद्योगमा परेको प्रहारले वर्तमान अवस्था अत्यन्तै नाजुक देखिन्छ ।
अस्थिर राजनीति, अस्थायी सरकार र राज्यको बेवास्ता र नीति अस्थिरता आजको दिनमा नेपालमा व्यवसायीलाई हुनुपर्ने पारदर्शी नीति नभएको र व्यवसायमाथि सीधा वा अप्रत्यक्षरूपमा आक्रमण भइरहेका छन् । व्यवसायीलाई सहयोग गर्ने सट्टा व्यापारिक जगत् राज्यको दमनकारी नीति, प्रशासनिक अवरोध र राजनीतिक हस्तक्षेपका कारण त्रसित छ । व्यवसायीहरू सहजरूपमा व्यापार सञ्चालन गर्न सकिरहेका छैनन् । सरकारी निकायहरूमा हुनेगरेको ढिलासुस्ती, अत्यधिक प्रक्रिया, करको जटिलता र अनावश्यक अनुमति प्रणालीले निजी क्षेत्रको मनोबल घटाइदिएको छ । राज्यले आफ्ना व्यवसायीको पीडा बुझ्न नसक्नु, उनीहरूलाई सहयोगको सट्टा शंका दृष्टिले हेर्नु नै नेपालको आर्थिक कमजोरी हो । यदि देशले आफ्ना व्यवसायीलाई नै सुरक्षित गर्न सक्दैन भने विदेशी लगानी कसरी भित्रिन्छ ? विदेशी लगानीकर्ताले त्यो देशमा लगानी गर्दैन जहाँ सुरक्षा, नीति र स्थिरता छैन ।
नेपालमा औद्योगिक क्षेत्रहरूको पतन
नेपालमा पहिले–पहिले उद्योग र व्यवसायलाई तथा व्यवसायीलाई समेत प्रोत्साहन गर्नेगरी औद्योगिक क्षेत्रहरूको स्थापना गरिएका थिए । जस्तैः पाटन औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, विराटनगर औद्योगिक क्षेत्र, बीरगंज औद्योगिक क्षेत्र र भैरहवा औद्योगिक क्षेत्र । यी क्षेत्रहरूले धेरै रोजगार प्रदान गर्नुका साथै देशमै उद्योगको विकास देखाउँथे । ती क्षेत्रहरूले केही दशकअघिसम्म पनि नेपालको उत्पादनदेखि रोजगारीमा समेत योगदान दिएका थिए । तर आज ती औद्योगिक क्षेत्रहरूको विनाश भई देशमा उद्योगकै पतन भएको जस्तो भएको छ । त्यसपछि नेपालमा न त नयाँ उद्योगहरू खुलेका छन्, न त पुराना उद्योगहरू बचाउन सकिएका छन् । त्यसैगरी आजको दिनसम्म पनि विद्युत् अभाव, व्यवसायमा उच्च कर, चरम भ्रष्टाचार र अस्थिर राजनीतिक तथा अव्यवस्थित नीति–नियमले नेपालका व्यापारिक क्षेत्रहरूलाई अस्तित्वहीन बनाइसकेको छ ।
नेपालको अव्यवस्थित सहरीकरण र व्यावसायिक असन्तुलन
नेपालमा अर्को ठूलो समस्या हो— अव्यवस्थित सहरीकरण तथा यसमा हुन नसकेको औद्योगीकीकरण । काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा तीव्र गतिमा जनसंख्या बढ्दै गएको छ, तर सहरको व्यवस्थापन त्यसअनुसार भएको छैन । सहरी क्षेत्रहरूमा योजनाविहीन निर्माण, प्रदूषण, यातायात समस्या र अव्यवस्थित व्यापारिक विस्तारले आर्थिक क्षेत्रलाई नै संकटमा पारेको छ । सहरहरूमा बसाइँसराइ बढ्दा ग्रामीण क्षेत्रमा उत्पादन घट्दै गएको छ । ग्रामीण व्यवसाय, घरेलु उद्योग र साना उत्पादन उद्यमहरू बन्द हुँदै गएका छन् । यस्तो अवस्थामा सहरी अर्थतन्त्र मात्रै बढेर पनि देश समृद्ध हुन सक्दैन ।
साना व्यवसाय र बैंकिङ अवरोध
नेपालमा गर्न सक्नेहरूले ऋण पाउने र सच्चा आवश्यकताका व्यक्तिहरूले ऋण नपाउने अवस्था छ । नेपालको आर्थिक सन्तुलन बिग्रिनुको कारण नै साना व्यवसायी र मध्यम उद्यमीलाई बैंकिङ क्षेत्रले नसम्झिनु हो । बैंकहरूले साना लगानीकर्तालाई ऋण दिनमा अत्यधिक जमानत माग गर्छन्, ब्याजदर उच्च छन् र प्रक्रियाहरू जटिल छन् । यसले साना उद्यमीहरूलाई निराश बनाएको छ । उता, बैंकहरूमा निक्षेपको मात्रा भने दिन–प्रतिदिन बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूमा ठूलो मात्रामा बचत जम्मा भइरहेको छ, तर ती पुँजीहरू उत्पादनशील क्षेत्रमा परिचालित हुन सकेका छैनन् । बचतमा न्यून ब्याजदरले पुँजी निष्क्रिय बनेको छ । यसबाट स्पष्ट हुन्छ— देशमा लगानी गर्ने वातावरण कमजोर छ, नयाँ व्यवसाय सुरु गर्ने मनोबल हराउँदै गएको छ ।
निजी क्षेत्र र सरकारी सहकार्यको अभाव
देशको विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ । तर नेपालमा सरकारी नीतिले निजी क्षेत्रलाई प्रोत्साहन होइन, अवरोध पुर्याउने काम गरेको छ । सहरहरूमा अत्यधिक ट्राफिक, प्रदूषण र अव्यवस्था घटाउनका लागि मोनोरेल, ठूला सार्वजनिक सवारीसाधन र प्रदूषणमुक्त यातायात प्रणाली आवश्यक छन् । यस्ता योजनाहरू निजी क्षेत्रको सहकार्यमा सहजै गर्न सकिन्छ, तर राज्यले आजसम्म यस्ता ठोस कदम चालेको छैन । यो स्थिति देखाउँछ— सरकारले निजी क्षेत्रलाई साथ दिन चाहेको छैन । यस्तो अवस्था हुँदा व्यवसायीहरूले दीर्घकालीन लगानी गर्ने हिम्मत गुमाउँछन् ।
अबको नेतृत्वले गर्नुपर्ने आर्थिक पुनर्जागरणका उपायः
नेपालको वर्तमान आर्थिक अवस्थालाई सुधार गर्नका लागि केही ठोस र व्यावहारिक कदमहरू चाल्न आवश्यक भएको छ । देशमा राजनीतिक स्थायित्व र नीतिमा स्पष्टता ल्याउने बेला आएको छ । लगानीकर्तालाई दीर्घकालीन सुरक्षा दिने र जुनसुकै सरकार आए पनि स्थिर नीति राख्ने बेला आएको छ । उद्योगीलाई संरक्षण दिनुपर्ने काम गर्नैपर्छ । उनीहरू रोजगारदाता र करदातासमेत हुन्, अपराधी होइन । व्यवसायीलाई साझेदारको रूपमा हेर्नुपर्छ । राज्यले व्यवसायीका अधिकार, सुरक्षा र लगानीको ग्यारेन्टी गर्नुपर्छ । उनीहरूलाई अपराधी होइन, राष्ट्रका साझेदारको रूपमा सम्मान गर्नुपर्छ । साना र मध्यम उद्यमहरूको प्रोत्साहन गर्नुपर्छ, बैंकहरूले साना लगानीकर्तालाई सहज ऋण उपलब्ध गराउने नीति बनाउनुपर्छ । ग्रामीण उद्योग, कृषि–आधारित व्यवसाय र घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्छ । औद्योगिक क्षेत्रहरूको पुनर्जीवन गर्नुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ । बन्द भएका औद्योगिक क्षेत्रहरूलाई पुनः सञ्चालन गर्ने, पूर्वाधार सुधार गर्ने र नयाँ प्रविधि भित्र्याउने नीति आवश्यक छ ।
सहरी योजनाको पुनर्संरचना — सहरीकरणलाई व्यवस्थित बनाउन दीर्घकालीन योजना, हरित सहर, र प्रदूषणमुक्त यातायातमा लगानी गर्नुपर्छ । विदेशी लगानी भित्र्याउन विदेशीलाई आकर्षित गर्नुपर्छ । त्यसका लागि लगानीमैत्री नीति, कानुनी सुरक्षा, व्यक्तिगत सुरक्षा र लगानी सुरक्षा सुनिश्चित गर्नुपर्छ ।
अन्त्यमा भन्नुपर्दा, नेपालमा लगानीको वातावरण बनेको देखिँदैन, भएका उद्योग–धन्दा पनि बन्द भइरहेका छन्, नयाँ खुलेका व्यवसायमा पनि अवरोध पुगिरहेको छ, विदेशी लगानी ठूला–ठूला परियोजनामा नआउनु, उद्योगीको मनोबल उच्च राख्ने कदम नचल्नु, उद्योगी सुरक्षित नहुनु — यी सबै अर्थतन्त्रमा गम्भीर असर पार्ने कुरा हुन् । नेपाल अहिले आर्थिक संक्रमणको चरणमा छ । एकातिर पुँजी पलायन भइरहेको छ, अर्कातिर नयाँ लगानी घट्दै गएको छ । उद्योग र व्यापार स्थिर हुनुको सट्टा संकटमा छन् । यस्तो अवस्थामा राज्यको नै पूर्ण जिम्मेवारी हुन्छ — यसलाई बचाउने र नयाँ उद्योग–धन्दा खोल्ने । अब बेला आएको छ राज्य जिम्मेवार बन्ने, उद्यमीको मनोबल उच्च राख्ने, बन्द भएका उद्योग खोल्ने प्रयास गर्ने, लगानीकर्तालाई विश्वास दिलाउने र नीति मार्फत स्थिरता कायम राख्ने । देशका व्यवसायीहरू राष्ट्रका सान चब सम्पत्तिहरू हुन्, उनीहरूलाई संरक्षण र सम्मान गर्न सके देशको अर्थतन्त्र पुनः जीवित हुन सक्छ । अब समृद्ध नेपाल बनाउने कुरा होइन, काम गरौँ — उद्यमीलाई उद्यम गर्न बाटो खोलौँ ।