काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले यो भ्रमण फलदायी भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै सचिव राईले यो भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ तुल्याएको उल्लेख गरे । भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको हितमा आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका लागि विश्व समुदायबीच थप सहकार्य र हातेमालो गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति पौडेल कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल–थानीको मैत्रीपूर्ण निमन्त्रणामा कात्तिक १७ गते कतार प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेलले समावेशिता र साझा समृद्धिलाई दिगो शान्ति, समुन्नति र मानवीय मर्यादाको आधारशिला भएको उल्लेख गर्दै सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित हुने भविष्य निर्माणमा जोड दिएका थिए । राष्ट्रपति पौडेलले न्यायपूर्ण, समावेशी र दिगो विकासका लागि स्रोतसाधनमा समतामूलक पहुँच दोहा घोषणापत्रको प्रभावकारी कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेको सचिव राईले बताए ।
राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ शीर्षकको उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यसैगरी, राष्ट्रपति पौडेलले दिगो र मानव–केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवा आवश्यक रहेकामा जोड दिएको सचिव राईले बताए । भ्रमणका दौरान राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति पौडेलले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका गम्भीर असर व्यहोर्नुपरेको बताउँदै ती असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए । सो अवसरमा नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्ध सुदृढीकरणका विषयमा विचार–विमर्श भएको थियो ।
महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्र शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तनको असरको मारमा परेका नेपालजस्ता मुलुकलाई अनुकूलनका लागि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा कतारका अमीर महामहिम शेख तमिम बिन हमाद अल–थानीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले दोहास्थित नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए ।