काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले जानकारी दिएको छ ।
नेपालमै पहिलो पटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ । दुई प्याकेजहरूमा पहिलोमा करसहित ९९ रुपैयाँको प्याक रहेको छ । तीन दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, दुई लाख रुपैयाँबराबरको म्यादी जीवन बीमा र दुई लाख रुपैयाँबराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
दोस्रोमा ३९ रुपैयाँको प्याक रहेको छ । यो प्याकमा ग्राहकले तीन दिनका लागि १०० एमबी डेटा, ५० हजार रुपैयाँबराबरको म्यादी जीवन बीमा र ५० हजार रुपैयाँबराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरू ८१२३८४८६३ डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरूको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठूलो महत्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ ।
‘मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षासहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौँ । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ’, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले भने, ‘मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौँ । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईँ र तपाईँको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।’
एनसेलको बारेमा
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरूमार्फत जोड्दै कनेक्टिभीका लाभहरू प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आइरहेको छ ।
स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नवीनतम र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकांक्षाहरू हासिल गर्न योगदान पुर्याउनेछ । एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उदेश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर छ, जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउनेछ ।
डिसेम्बर १, २०२३मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।
एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापनापश्चात् कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई तीन खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षणजस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पुर्याइरहेका छन् ।