काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’को निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम तीन अर्बबराबरको ऋणपत्र ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्बन्धमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख भएअनुसार राष्ट्रिय वाणिज्य बैंकले तीन अर्बबराबरको ऋणपत्र जारी गर्नेछ जसमध्यको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने एक अर्ब ८० करोडबराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने एक अर्ब २० करोडबराबरको रकम सर्वसाधारणहरूका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर छ प्रतिशत र अवधि सात वर्षको रहनेछ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालको एक अग्रणी सरकारी वाणिज्य बैंक हो । जसले देशभरका तीन सय १० वटा शाखामार्फत आधुनिक बैंकिङ र वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । ‘तपाईँको आफ्नै बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंक हरदम लागि परेको बैंकको भनाइ छ ।