काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–६ च्यासिन टोलस्थित एक घरमा भएको चोरी प्रकरणमा संलग्न एक व्यक्तिलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।प्रहरीका अनुसार, बूढानीलकण्ठ–६ निवासी ५० वर्षीय पूर्ण श्रेष्ठको तीन तले पक्की घरमा मिति २०८२ कार्तिक २१ गते दिउँसो करिब ११:३० बजेदेखि राति ११:०० बजेसम्म को समयमा कोही नभएको मौका पारी चोरी भएको थियो। श्रेष्ठले राति करिब ११ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक नारायणसिंह बिष्ट र प्रहरी चौकी हेपाली हाइटका प्रहरी सहायक निरीक्षक श्यामसुन्दर प्रसाद यादव सहितको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा प्रहरीले जिल्ला धादिङ घर भई हाल बूढानीलकण्ठ–६ च्यासिन टोलमा बसोबास गर्दै आएका ४५ वर्षीय सुमन पाण्डेलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको जनाएको छ। उनको कोठाबाट प्रहरीले निम्न सामानहरू बरामद गरेको छः पहेँलो धातुको बाला – २ थान नौ गेडी भएको मंगलसूत्र – १ थान मोती माला – १ थान नेकलेस – १ थान कानका मून्द्रा – १ थान घडी – १ थान विभिन्न कम्पनीका मोबाइल – ३ थान Dell कम्पनीको ल्यापटप – १ थान सिक्का पैसा – ६२ वटा पक्राउ परेका पाण्डेलाई प्रहरीले कानुन बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बूढानीलकण्ठमा राखेको जनाएको छ।