काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति भद्रगोल अवस्था सिर्जना भएको छ । साँझदेखि राति करिब १० बजेसम्म उडान र अवतरण नै हुन नसकेको हो ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले साँझ ५ः३० बजेदेखि धावनमार्ग (रनवे) को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएको बताए । उनका अनुसार राति १० बजेदेखि भने बन्द भएका हवाई उडान नियमित सञ्चालनमा आएका छन् । उनले भने, ‘रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि हवाई उडान केही घण्टा बन्द भएको थियो । हामीले वैकल्पिक प्रविधि प्रयोग गरी लाइटिङ प्रणाली सुचारु गरेका छौँ ।’
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले रनवेको बत्ती प्रणालीमा समस्या आउँदा विमानस्थलबाट हुने उडान र अन्तर्राष्ट्रिय आगमनमा अवरोध भएको जानकारी दिए । ‘यो पूर्णतः प्राविधिक विषय हो । प्राविधिक अध्ययनपछि विस्तृतमा जानकारी आउँछ’, उनले भने, ‘सामान्यतः रनवेको वरिपरिको लाइटिङ सिस्टममा समस्या आएको हो । यसको अध्ययन गर्दै छौँ ।’
पिक समयमा विमानस्थलका बत्ती प्रणालीमै समस्या देखिएको हो । यही कारण घण्टौँसम्म काठमाडौं आएका अन्तर्राष्ट्रिय विमान कम्पनीका जहाजहरु आकाशमै होल्ड भएका थिए भने ती जहाजलाई छिमेकी देशहरुमा डाइभर्ट गर्नुपरेको थियो । कतार एयरवेजको दोहाबाट आएको क्युआर६४४ उडान बंगलादेशको ढाका डाइभर्ट गरिएको थियो । त्यसैगरी, कोरियन एयरको जहाज भारत डाइभर्ट भएको थियो भने फ्लाई दुबई र स्पाइसजेटले काठमाडौं उडान नै रद्द गरेका थिए ।
बत्ती प्रणालीको समस्या समाधान गरेपछि भने राति १० बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको प्रवक्ता शेर्पाले जानकारी दिए । समस्या समाधानसँगै नेपाल एयरलाइन्स, एयर अरेबिया, बाटिक एयर, क्याथे प्यासेफिक, सिंगापुर एयरलाइन्स, चाइना साउदर्नका जहाजहरु अवतरण भएका थिए । काठमाडौंंबाट विभिन्न विदेशी गन्तव्यमा हुने उडानहरु समेत रातिबाटै सुचारु भएको विमानस्थलले जनाएको छ ।
शनिबार साँझ समस्या देखिएपछि आन्तरिक उडानहरु समेत डाइभर्ट गरिएका थिए ।