कांग्रेस महाधिवेशन भन्नाले एमाले, माओवादी, राप्रपा, मधेशवादी दल आदि इत्यादि सबैका एउटै सोच, समझ, नियत, प्रवृति र चरित्रका महाधिवेशन भन्ने बुझ्नुपर्ने हुन्छ । यिनीहरू सबै दलहरूका महाधिवेशनको एउटै र एउटै मात्र लक्ष्य उद्देश्य ध्येय जसरी भए पनि आम मतदातालाई झुक्याएर ठगेर चुनाव जितेर सत्तामा पुगेर जनता लुट्ने हो । यो तथ्य गत भदौ २३/२४को जेन–जी विद्रोह आम नवजागरण विस्फोटबाट सबै दशी प्रमाण पुष्टि पनि भइसकेको छ । दलहरूका महाधिवेशनबाट कस्ता प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय सदस्य र जिल्ला नेताहरू, स्थानीयतहका जनप्रतिनिधिहरू जन्मिदारहेछन् भन्ने बादल हटेको (देउवाको बंकर र प्रचण्डको स्वीमिङपुल) मध्यान्हको घाम र पूर्णिमाको जूनजस्तै सबै छर्लङ्ग भइसकेको छ । यति धेरै छर्लङ्ग भइसक्दा पनि अझै तिनका महाधिवेशनप्रति आम मतदाताको उत्सुकता र चासो जोगिनु भनेको यसैलाई मैले कविलाई चेतना र दाशमानसिकता (कमाराकमारी)को जीवन्त उदाहरण भन्ने गरेको हुँ ।
तीन करोड पनि नपुगेको जनसंख्याका ८० लाखभन्दा बढी बलिया पाखुरी जनसंख्या खाडी मुलुकमा रगत पसिना बगाउन लेखेटिएका (बेचिएका) छन् । ग्रामीण बस्तीका आठ लाख घरहरू खण्डहर भएका छन् । ६५ प्रतिशत उब्जाउ जमिन बाझै छन् र ८३ प्रतिशतभन्दा बढी खाद्य पदार्थलगायत उपभोग्य वस्तु विदेशबाट आयात भएर बिहानबेलुका धान्नु परेको । जन्मिदै नेपालीको टाउकोमा ३२ खर्बको ऋण बोकाइएको छ । यस्तो अवस्था र हालतमा पुर्याइएको मुलुक (नेपाल)लाई आजको विश्वका कुनै पनि मुलुकले स्वाधीनता र सार्वभौमिकताको मान्यता दिन मिल्दैन । हाम्रो देशलाई यस्तो हालत र अवस्थामा पुर्याउने मुख्य कारण र जिम्मेदार (दोषी/अपराधी) कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि इत्यादि दलहरूका महाधिवेशनहरू नै हुन् भन्नेमा अब माथि भनिएजस्तै सबै छर्लङ्ग भइसकेको छ । यसैलाई मैले नवजागरणको बीजारोपण भन्ने गरेको छु जुन समयले खोजेको विचारधारा र माग हो ।
विसं २०४८ सालको कांग्रेस महाधिवेशन (पंक्तिकारको सक्रिय संलग्नता) यताका महाधिवेशनहरूलाई मतदाता झुक्याएर देश बेच्ने जनता लुट्ने हतियार नबनाएर राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको बाटोमा हिँडाइएको भए विगत तीन दशकको प्रयत्नले निश्चय नै आज (यतिखेर) हाम्रो मुलुक पनि विकासपथमा जापान, सिङ्गापुरसँग हातेमालो गर्दै अगाडि बढिरहेको हुन्थ्यो ।
०७ सालको हाराहारी दोस्रो विश्वयुद्धमा खरानी भएको जापान (हिरोसिमा नागासाकी) त्यसपछिको १०/१२ वर्षको प्रयत्न परिणाम आज कहाँ पुगेको छ ? दोस्रो विश्वयुद्ध पहिलेसम्म सिङ्गपुरमा रबडको खेतीबाहेक प्राकृतिक सम्पदाको कुनै स्रोत थिएन । पिउने पानी त अहिले पनि सिङ्गापुरले मलेसियाबाट आयात गरेर धान्नु परिरहेको छ । मात्र लिक्यानयूको १०/२० वर्षको इमान्दार प्रयत्नबाट आज कहाँ पुगेको छ ? प्राकृतिक सम्पदाका हिसाबले जापान सिङ्गापुरभन्दा नेपाल त कता हो कता धेरै सम्पन्नशाली थियो (अहिले पनि छ) । जता खोस्रे पनि उब्जाउ नै उब्जाउ । जता खने पनि खानी नै खानी । आजैबाट पनि इमान्दारीपूर्वक काम हुने हो भने १० वर्ष २० वर्षको अवधिमा सिङ्गापुर र जापानको विकास पथमा नपुग्ने भन्ने कुनै कारण छैन ।
यस्तो प्राकृतिकरुपको सम्पन्नशाली मुलुकलाई आजको हरितन्नम कंगाली अवस्थामा पुर्याउने मुख्य दोषी र जिम्मेवार विगत तीन दशकका दलहरूका महाधिवेशनहरूलाई अझै पनि आम मतदाताले उत्सुकता चासो राख्छन भने योभन्दा पतन र सिद्धिने उदाहरण अरु के हुन सक्छ ? दलहरूका मतदाता झुक्याएर ठगेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, वैचारिक स्वतन्त्र नामका मनपरितन्त्र, लुटतन्त्र मच्चाउने हतियार अस्त्र महाधिवेशनहरूकावारे जेन–जी, जेन–अल्फा पुस्ताका लागि पाठ्यक्रम निर्माण अभिलेख गर्न थाल्दा प्रतीक उदाहरणका रुपमा नेपाली कांग्रेस नै विषयवस्तु बन्नु स्वाभाविक हुन जान्छ । किनभने विसं १९९७ सालका चार सहिदले स्थापना गरेको ‘प्रजापरिषद्’ पछि सबैभन्दा पुरानो पार्टीमा नेपाली कांग्रेसकै नाम अगाडि आउँछ । बीपी कोइरालाबाट विसं २००३ सालमा स्थापना भएको ‘नेपाली राष्ट्रिय कांग्रेस’ र सुवर्ण शमशेरबाट विसं २००५ सालमा स्थापना भएको ‘नेपाली प्रजातन्त्र कांग्रेस’ एकीकरण भएर विसं २००६ साल चैत ७ गते नपाली कांग्रेसको जन्म भएको हो । मानिसको जन्म हुँदै भावीले निधारमा मृत्युको दिन पनि निर्धारण गरिदिएको हुन्छ भनेजस्तै प्रारब्धले कांग्रेस अन्त्यको संकेत पनि यसको जन्म हुँदै गरिदिएको रहेछ । बीपीको ‘नेपाली राष्ट्रिय कांग्रेस’बाट ‘राष्ट्रिय’ र सुवर्ण शमशेरको ‘नेपाली प्रजातन्त्र कांग्रेस’बाट ‘प्रजातन्त्र’ हटाएर ‘नेपाली कांग्रेस’ नामाकरण (न्वारान) भएको आज आइपुगेर प्रारब्धको त्यो संकेत अक्षरस चरितार्थ हुन पुगेको छ । नेपाली कांग्रेसमा आज न ‘राष्ट्रियता’ छ न ‘प्रजातन्त्र’ । बीपीले भन्नुभएको ‘जुनदिन कांग्रेसबाट राष्ट्रियता र प्रजातन्त्र हराउँछ, यो समाप्त भएर जान्छ’ अक्षरंस पुष्टि र प्रमाणित भएको छ ।
देउवा कांग्रेसका एआई उत्तराधिकारहरूमाझ ‘विशेष अधिवेशन’ कि ‘नियमित अधिवेशन’ भन्ने रडाकोमा जेन–जी नवजागरणबाट खरानी भएको केन्द्रीय अफिसमा साँचो लगाइएको समाचारबाट आफैँ नौफिट खाल्डो खनेर त्यसमा हामफालेका प्रमाणित हुन्छ । सात फिट गहिरो खाल्डोमा पर्दा हात उचालेर निस्किन कोसिस गर्दा सकिन्छ तर नौ फिट गहिरो खाल्डोमा परिसकेपछि भने निस्किन अरुको सहायताको हात चाहिन्छ । त्यो हात भनेको ‘पृथ्वीपथ’मा गएर राजसंस्था स्थापनाभन्दा अर्को विकल्प छैन । त्यसका लागि गिरिजाको लिगेसी बोकेको देउवा कांग्रेसको विघटन अनिवार्य सर्त हो ।
विसं २०४८को चुनावबाट सत्तामा पुगेको कांग्रेसले राजा महेन्द्रले खडा गरेका उद्योग कारखाना जोगाएर बीपी विचारको कृषि प्रणालीबाट आत्मनिर्भर अर्थतन्त्र तर्फ गएको भए विघटनको अनिवार्य सर्त आवश्यक पर्ने थिएन । तर राष्ट्रियता, प्रजातन्त्र, समाजवाद (जनजीविकामा आत्मनिर्भर)को बाटो त्याग्नु आत्मघाती हुन्छ भनेर अडान लिने गणेशमान, कृष्णप्रसाद भट्टराई, सिके या हामीहरू आदि इत्यादिलाई गुण्डागर्दीको शैलीमा लखेटेर राष्ट्रघात (टनकपुर महाकालीसन्धी)मा गिरिजा कांग्रेस र मतदाता लुटेर मानव तस्करी (८० लाखलाई विदेश लखेटेर ७५ लाखका सहकारीमा वचत लुटेका)मा देउवा कांग्रेस गएका कारण विघटन वेगर गिरिजा–देउवा उताको कांग्रेसको प्राणप्रतिष्ठा र पुनर्जीवन एक दुई तीन असम्भव छैन । गिरिजाको राष्ट्रघात र खुमबहादुरको भ्रष्टाचारको लिगेसी बोकेका तर देउवाको मानवतस्करीको भागबन्डाबाट वञ्चित विपिन कोइराला, शंकर भण्डारी, लक्ष्मण घिमिरे आदि इत्यादि पूर्वसांसद मन्त्रीहरूको एउटा झुण्डले अघि सार्न थालेका ०४७को संविधान पुनःस्थापनामा जगमान गुरुङ, शास्त्रादत्त पन्त, दिपक ज्ञवाली, देवेन्द्रलाल नेपाली, वालकृष्ण न्यौपाने आदि इत्यादिको अर्को झुण्ड आकर्षित हुनथालेका पनि देख्दै छु । तर ०४७को संविधान पुनःस्थापना गर्दा फेरि अर्को गिरिजा र अर्को प्रचण्ड नजन्मने कुनै ग्यारेन्टी छैन । यदि त्यो ग्यारेन्टी हुने हो भने ०४७को संविधानमा पंक्तिकारको पनि कुनै आपत्ति रहने छैन । तर फेरि अर्को गिरिजा अर्को प्रचण्ड जन्मने बाटोचाहिँ बन्द हुनैपर्छ ।
अन्त्यमा देउवा कांग्रेसका एआई उत्तराधिकारहरूको विशेष अधिवेशन कि नियमित अधिवेशन भन्ने रडाको (नौफीट गहिरो खाल्डो)मा आफूले भोगेको झेलेको साक्षात्कार अध्ययन ठहर पाठ्यक्रम अभिलेख गर्छु । विशेष अधिवेशन हस्ताक्षर भन्ने त नेपाल सिध्याउने मिसनबाट निर्देशित मतदाता ठग्ने लुट्ने तस्कर माफियाका भरिया विचौलियाबाट पातिल पोषित जत्थाहरूको देउवा कांग्रेस क्याप्चर गर्ने हर्कन भन्ने त हरिकट्टेल, विजय मिश्र, उध्दव सिग्देल आदि इत्यादि वरिष्ठ वकिल र प्राडाहरूका राजनीतिक विश्लेषणहरूबाट सामाजिक सञ्जालमा छर्लङ्ग आइरहेकै हुनाले त्यसमा थप टिप्पणीको जाँगर परेन । मेरो भोगेको, झेलेको साक्षात्कार अध्ययन ठहर तथ्य उद्घाटन भनेको नियमित अधिवेशन सन्दर्भमा हो ।
कुरोे विसं २०५७ साल माघ ६–७ गते पोखरामा सम्पन्न दशौँ महाधिवेशनको हो जुन महाधिवेशनमा मेरो भूमिकाबारे गणेशमान पुत्र प्रकाशमान सिंहको स्मृति अहिलेसम्म जोगिएको भए साक्षि प्रमाण दावी गर्नसक्छु । त्यो अधिवेशनमा गिरिजापुत्री सुजाता कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवार हुने घोषणा गरेकी थिइन् । सभापतिमा कृष्णप्रसाद भट्टराईले उम्मेदवार न दिएर गिरिजा जित्ने पक्का भएपछि केन्द्रीय सदस्यमा सुजाताको जित पनि पक्का थियो । तर शैलजा आचार्यले पाँच वर्ष क्रियाशील सदस्य नभई महाधिवेशन प्रतिनिधि हुन नपाउने र पाँच वर्ष महाधिवेशन प्रतिनिधी नभइ केन्द्रीय सदस्य हुन नपाउने कांग्रेस विधान अघि सारेर सुजाताको उम्मेदवारी खारिज गरिदिइन् । जर्मन नागरिकसँग विवाह गरेर उतै बसोबास गरेकी पिताजी प्रधानमन्त्री भएपछि मात्र नेपाल आएकी सुजाताको क्रियाशील सदस्यता पाँच वर्ष पुग्दैन थियो, महाधिवेशन प्रतिनिधि त धेरै टाढाको कुरो थियो । त्यसपछि शैलजाको के हालत भयो ? त्यतातिर यहाँ म गइनँ । नरहरि आचार्य नाम गरेका एक व्यक्तिको गिरिजा कांग्रेसमा बौद्धिक शिरोमणिको रुपमा एकाएक उदय भयो । उनैको बुद्धिमा आज क्रियाशील सदस्य भएको व्यक्ति आजै महाधिवेशन प्रतिनिधि हुन पाउने र आजै केन्द्रीय सदस्य भएर सांसद, मन्त्री, प्रधानमन्त्री हुन पाउने कांग्रेसको विधानमा संशोधन भयो । त्यसपछि कांग्रेसका १२औँ, १३औँ, १४औँ जति पनि महाधिवेशनहरू भए क्रियाशील सदस्यदेखि सभापति प्रधानमन्त्रीसम्म किनबेचको प्रारम्भ भयो । किनबेच भन्नेबित्तिकै पार्टी कहाँ पुग्यो भन्ने त दुई पटक निर्वाचित समापति र पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको पछिल्लो हालतले नै नियमित अधिवेशनको पनि नियत र नियति छर्लङ्ग हुँदैन र ? अस्तु ।