काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आव २०८१/०८२को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरियो र आव २०८२/०८३को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षक नियुक्ति गर्ने सम्बन्धमा हाल कायम रहेका लेखापरीक्षक श्री एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । साथै, असार मसान्त २०८२को वासलातबमोजिम प्रतिसेयर आम्दानी १८.२० रहेकोमा वितरणयोग्य आम्दानी १७.८३ प्रतिशतमध्येबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक सेयर निष्काशनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गरी तीन दशकभन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कम्पनीले करिब छ अर्बबराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एउटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा छवटै म्युचुअल फन्डले आव २०८१/०८२को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अरब पुँजी भएको लक्ष्मी सस्टनेवल इनर्जी फन्डले दिगो ऊर्जाका क्षेत्रहरूमा लगानी गर्ने उद्देश्य राखेको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड अपरेटिङ प्रिन्सिपल अफ इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो । यो एक विश्वव्यापी संस्था हो, जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभावसहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्दछ । यो सदस्यताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको दिगो र उत्तरदायी लगानीप्रतिको प्रतिबद्धतालाई दर्शाउँछ ।