काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट ३२ हजार नगद, पाँच थान मोबाइल र अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले लागुऔषधसहित पक्राउ परेका काठमाडौँ महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड बरामद गर्नुका साथै सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको जानकारी दिएका छन् ।
उनले भने, “हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।” सूचना अधिकारी आचार्यले उक्त विषयमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको बताए ।