काठमाडौं, शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्। आइतबार जारी सूचनामार्फत मन्त्री पुनले पेसागत आचरण विपरीत राजनीतिक संलग्नताका कारण शैक्षिक गुणस्तर खस्किएको गुनासो बढ्दै गएको उल्लेख गर्दै, यस्तो गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका हुन्। उनका अनुसार, कुनै पनि पेसागत ऐनहरूले शिक्षक वा शैक्षिक सेवामा कार्यरत व्यक्तिलाई आफ्ना हकहितका मुद्दामा मात्र आवाज उठाउने अधिकार दिएका छन्, तर अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएका छैनन्। मन्त्री पुनले राजनीतिक दलका भ्रातृ वा शुभेच्छुक संगठनका रूपमा गठन भएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनहरूलाई मन्त्रालयले अब मान्यता नदिने पनि स्पष्ट पारेका छन्। शिक्षक र कर्मचारीको संवैधानिक अधिकारको सम्मान गर्दै मन्त्री पुनले शिक्षक महासंघसहितका सबै संघ–संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र पेशागत प्रकृतिको बनाउन कानुनी व्यवस्था सहित पुनर्गठन गर्न निर्देशन दिएका छन्।