काठमाडौं, मधेश प्रदेशमा नयाँ राजनीतिक मोड आएको छ। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई आइतबारकै मितिमा मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेश प्रमुख भण्डारीले अस्वस्थता कारण जनकपुरबाट काठमाडौं प्रस्थान गरेको बताउँदै बिहानै यात्रा गरेकी थिइन्। त्यसैबेला मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए। पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश प्रमुख स्वस्थ भएपछि मात्र राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए। तर केही घण्टामै प्रदेश प्रमुख भण्डारीले काठमाडौंस्थित होटल पानसमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो। सोही होटलमै यादवले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन्। गत असोज २९ गते सात दलीय गठबन्धनको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। तर विश्वासको मत नपाउने स्थिति बनेपछि उनले कात्तिक २२ गते प्रदेश सभामा राजीनामा दिएका थिए। सोनलको राजीनामा स्वीकृत भए पनि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको आह्वान नगरेको भन्दै सात दलीय गठबन्धनले आपत्ति जनाउँदै आइरहेका थिए। प्रदेश प्रमुखले एमालेलाई सरकारले गठन गर्न दिने आशंकामा आइतबार गठबन्धनका नेताहरूले प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि विरोध प्रदर्शन गरेका थिए। शनिबार बेलुकी गठबन्धनका शीर्ष नेताहरूले भण्डारीलाई भेटेर छलफलसमेत गरेका थिए। तर अस्वस्थ्य भएको कारण देखाउँदै जनकपुरबाट निस्किएकी भण्डारीले काठमाडौं पुगेपछि होटलमै मुख्यमन्त्री नियुक्ति पत्र जारी गरी शपथ ग्रहण गराएको घटनाले नयाँ विवाद सिर्जना गरेको छ। यसबारे प्रतिक्रिया दिँदै राजीनामा दिएका मुख्यमन्त्री सोनलले भनेका छन्, “प्रदेश प्रमुखले मधेशको अस्मिता समाप्त पार्ने खेल खेलेकी छन्।” यस घटनासँगै मधेश प्रदेशको राजनीति फेरि एकपटक उथलपुथलमा फस्ने संकेत देखिएको छ।