मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद चर्किएपछि प्रदेश प्रमुखको कार्यकक्षमै तोडफोड भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका दलका कार्यकर्ता र सांसदहरूले आज प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका हुन् ।
प्रदर्शनमा सहभागी हुनेमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद तथा कार्यकर्ता रहेको बताइएको छ । उनीहरूले प्रदेश प्रमुख कार्यालयको अगाडिको बोर्ड, गमला र संरचना तोडफोड गर्दै नाराबाजी गरेका थिए ।
अस्वस्थ रहेको भन्दै उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले आइतबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासस्थित एक होटलमा नै शपथ गराएकी थिइन् ।
प्रदेश प्रमुखको यो कदमपछि सात दलीय गठबन्धनका नेताहरू आक्रोशित बनेका छन् । उनीहरूले यसलाई “संविधान विपरीतको कदम” भन्दै भण्डारीको तत्काल राजीनामा माग गरेका छन् ।यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि आन्दोलनकारीहरूले तोडफोड गरेका थिए । प्रदेशमा अहिले सुरक्षा निकायहरू सतर्क अवस्थामा छन् ।