काठमाडौं । दश वर्षे जनयुद्धपछि सरकारसँग तत्कालीन विद्रोही नेकपा माओवादीले २०६३ साल मंसिर ५ गते गरेको दश बुँदे विस्तृत शान्ति सम्झौता नेकपा माओवादीको विघटनसँगै स्वतः भंग हुन पुगेको छ ।
२०५२ फागुुन १ गतेदेखि देशमा सशस्त्र जनयुद्ध गर्दै आएको विद्रोही माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा आउने ढोका खोल्न सरकार र तत्कालीन विद्रोही माओवादीबीच उक्त विस्तृत शान्ति सम्झौता भएको थियो ।
उक्त शान्ति सम्झौतामा नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट सुप्रिम कमान्डर पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । सरकार र माओवादीबीच भएको उक्त दश बँुदे विस्तृत शान्ति सम्झौतापछि हतियार बिसाएर विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा समाहित भएको थियो ।
सरकारसँग उक्त शान्ति सम्झौता गर्ने नेकपा माओवादी पार्टी अहिले अस्तित्वविहीन भइसकेको छ । शान्ति प्रक्रिया आएपछि माओवादी पार्टी टुक्राटुक्रा भएर विभाजित भइसकेको छ । जग्गा दलालले जालसाजी गरेर पास गराएको जग्गा हतारहतारमा एकपछि अर्को व्यक्तिको नाममा नामसारी गरेर आफू उम्किन खोज्नेजस्तै गरी जनयुद्धमा भएको हत्याहिंसाको आरोपबाट उम्कन माओवादी नेताहरुले हतारमा पार्टी छाड्ने र पार्टी फोरेर नयाँ पार्टी गठन गर्ने होडबाजी चलेको थियो । त्यही क्रममा बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रम चन्द्र, प्रभु शाह, मातृका यादव हुँदै जनार्दन शर्मालगायतका नेताले माओवादी पार्टी छाडेर नयाँ पार्टी गठन गरेका छन् भने सरकारसँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी अध्यक्ष प्रचण्डले नेकपा माओवादी विघटन गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन् । मुद्दा मामिलाको सवालमा आरोपी व्यक्तिको निधनपछि मुद्दा पनि स्वतः टुङ्गिने गरेजस्तै सरकारसँग माओवादीले गरेको विस्तृत शान्ति सम्झौता पनि नेकपा माओवादी पार्टीको विघटनसँगै सम्झौता स्वतः भंग हुन पुगेको ठानिएको छ । गत भदौ २३ गतेको जेन–जी पुस्ताको प्रदर्शनपछिको परिवर्तनसँगै मुलुकले कोर्स करेक्सन गरेको अवस्थामा तत्कालीन विद्रोही माओवादीले बाटो परिवर्तन अर्को बाटो लागेपछि माओवादीसँगको शान्ति सम्झौता बोकेर हिँड्ने अवस्थामा कोही पनि रहेका देखिँदैन । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी अध्यक्ष प्रचण्ड आफैँ माओवादी विघटन गरेर अर्को पार्टी गठन गरी बाटो फेरेपछि २०६३ मंसीर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच सम्पन्न विस्तृत शान्ति सम्झौता धरापमा परेको हो ।
माओवादी नेताहरूको राजावादी मोह ?
दश वर्षे सशस्त्र विद्रोह पछि संसदीय राजनीतिमा आएको तत्कालीन विद्रोही नेकपा माओवादीबाट टुक्रिएर बनेका माओवादी झुण्डका नेताहरुमा राजावादी मोह देखिएको छ ।
माओवादीबाट बेलैमा बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेला बखत आखिर बिरालोले म्याउ ग¥यो भनेर आफ्नो पूर्वपार्टी अध्यक्ष प्रचण्डलाई राजावादी दाग लगाउँदै आएका छन् भने माओवादीमा दाग लगाउँदै आएका छन् भने माओवादीमा हिसाबकिताव नमिलेपछि बाहिरिएका नेत्रविक्रम चन्द्र पनि त्यस्तै विवादास्पद अभिव्याक्ति दिने गरेका छन् ।
विगत केही समयदेखि स्वयम् बाबुराम भट्टराई सुुषुप्त राजावादी मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको चाकडीमा धाइरहेका छन् भने सबैभन्दा पछि माओवादी छाडेका नेता जनार्दन शमालाई पनि भट्टराईले आफूसँगै रास्वपाका नेताहरुसँग बैठक बसाएर बिटुल्याएका छन् ।