काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा रौतहटका निरञ्जन कुमार खरेललाई पक्राउ गरेको छ । उनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।
यसबारे सीआईबीले अनुसन्धान गरिरहेको थियो । उनीमाथि ठगीमा संकलन भएको नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनीरुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितबाट असुल गरी पाएको रकम लिने, गिरोहहरुसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही भागी फरार रहेको आरोप छ । उनी २१ गते पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । उनलाई सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेस गरी अनुसन्धान अघि बढाएको छ ।