काठमाडौं । राजधानी काठमाडौंमा फेकन मेगा एजुकेसन फेयर २०२६ को आयोजना हुने भएको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले आगामी जुनमा उक्त मेला आयोजना गर्ने जनाएको छ ।
दुई दिनसम्म चल्ने उक्त मेलामा शैक्षिक परामर्श संस्थाहरु, बैंक तथा फाइनान्स कम्पनी, स्वदेशी तथा विदेशी कलेजहरु, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसहितका धेरै संस्थाहरुलाई सहभागिता गराउने तयारी भइरहेको फेकनले जानकारी दिएको छ । उपत्यकामा यसअघि पनि विभिन्न किसिमका शैक्षिक मेलाहरु भएका छन् । तर यो मेला ती मेलाभन्दा बिल्कुलै फरक रहेको फेकनका अध्यक्ष उमेश कुश्वारले बताए । पाँच सयभन्दा बढी स्ट्रल रहने यो मेलामा स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने सबैलाई शिक्षासम्बन्धी परामर्श सेवा दिने उनको भनाइ छ । ‘यो मेला मनोरञ्जन, जानकारी र विशेष खानाका स्वादहरु एकसाथ पस्किने गरी हुन लागेको मेला हो । यसमा स्टडी इन एब्रोड, स्टडी इन नेपाल, फुड फेस्टिबल र अहिलेका बहुचर्चित कलाकारहरुको सांगीतिक तथा अन्य प्रस्तुति रहन्छ’, उनले भने ।
पछिल्लो समय जेन–जी आन्दोलन तथा अन्य विविध कारणहरुले गर्दा आमनागरिक एवम् विद्यार्थी मानसिकरुपमा विक्षिप्त अवस्थामा रहेको देखिन्छ । यो अवस्थामा मनोरञ्जन तथा जानकारी एक साथ दिने र मुलुकको अर्थतन्त्रलाई थोरै भए पनि चलायमान बनाउनका लागि मेला आयोजना गर्न लागेको पनि अध्यक्ष कुश्वारले जानकारी दिए । मेलाले पछिल्लो समय सुस्ताएको शैक्षिक परामर्श क्षेत्रलाई पनि नयाँ गति दिन सक्ने उनी बताउँछन् । कार्यक्रममा २० देखि ३० हजार जनाले प्रत्यक्षरुपमा अवलोकन गर्न सक्ने अध्यक्ष कुश्वारले जानकारी दिए ।