जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने माग गरेका छन् । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । डा. राउतले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, “मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। अब स्वायत्तताको आन्दोलनको उद्घोष गर्न जरुरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।” उनका अनुसार, संविधानलाई तोडमोड गर्दै प्रदेश प्रमुख, सभामुख र निर्वाचन आयोगले मनपरी निर्णय गरिरहेका कारण अब मधेशका जनप्रतिनिधिहरूले सडकमै भए पनि प्रदेश सभाको बैठक बोलाएर स्वायत्त घोषणा गर्नुपर्ने बेला आएको छ। डा. राउतले भनेका छन्, “संविधानलाई धज्जी उडाउँदै सिंहदरबारबाट पठाइएका प्रतिनिधिहरूले मधेशमाथि शासन गर्न खोजिरहेका छन्। मधेशका पार्टीहरूलाई छिन्नभिन्न पार्ने, दमन गर्ने र नियन्त्रणमा राख्ने षड्यन्त्र भइरहेको छ। अब हामीले आफ्नो शासन आफ्नै हातमा लिनुपर्छ।” उनले हालको संघीय सरकार नै संविधानअनुसार बनेको नभएको दाबी गर्दै मधेशका जनताको चाहना र दुई तिहाइ समर्थनका आधारमा मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्न सकिने उल्लेख गरेका छन्। डा. राउतले थप लेखेका छन्, “५४ प्रतिशत जनसंख्या भएको मधेश कुनै मुठ्ठीभर नेपाली शासकहरूको जागिर होइन। सिंहदरबारबाट पठाइएका अधिकारी र प्रशासनमार्फत मधेशलाई सदियौंसम्म गुलाम बनाइराख्ने प्रयासविरुद्ध अब पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष गर्नुपर्छ।” यसअघि, अस्वस्थ भएको भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन्। उनको सो निर्णयपछि मधेश प्रदेशमा राजनीतिक तनाव थपिएको छ।