काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शीरुपमा ऋण सुविधा उपलब्ध गराइनेछ ।
सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिनेछ । यस डिजिटल ऋण योजनाअतर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्नेछ । योग्य ग्राहकहरूले छ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यो ऋण सुविधाअन्तर्गत न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्नेछ बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पु¥याउने विश्वास लिएको छ । प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले ‘क्यूआर मर्चेन्ट लोन’ एउटा कोशेढुङ्गा भएको तथा यसले कर्जालाई सहजरूपमा ग्राहक र बैंकसँग जोड्ने बताए ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट १९ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।