उर्जामन्त्री कुलमान घिसिङ निकट नयाँ पार्टीको नाम ‘उज्यालो नेपाल’ राखिने सहमति भएको छ। अहिलेका लागि पूर्वसचिव अनुपकुमार उपाध्याय संयोजक रहने र अन्य सबै सदस्यहरूसहित निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भइरहेको छ। पार्टीको चुनाव चिह्न भने ‘बिजुलीको चिम’ नै रहने भएको छ।
यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भएको थियो, तर आइतबार राति बसेको बैठकमा उज्यालो नेपाल नामबाट दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।कुलमान घिसिङ निकट एक नेताले भने,
“अहिले तत्कालको लागि कोही पदाधिकारी हुने छैनन्। उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रिय कमिटी आउने छ। सुमना जी र अन्य पदाधिकारी पछि दोस्रो चरणमा थपिने छन्। अहिले माइन्यूटिङ र हस्ताक्षरको काम भइरहेको छ। सम्भव भएसम्म आजै दर्ता गरिने प्रयास हुनेछ।”अहिले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंग्याउने छलफल जारी रहेको बताइएको छ।