काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब एस–११ नेपाली बजारमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली र आकर्षक ट्याब्लेट अनुभवका रूपमा व्याख्या गरेको छ ।
ग्यालेक्सी एआई (कृत्रिम बुद्धिमत्ता) र वन यु–आई ८ द्वारा सञ्चालित उक्त ट्याब्लेटले बलियो प्रदर्शन र पातलो डिजाइनको संयोजन गर्दै सिर्जनशीलता तथा उत्पादकताको नयाँ आयाम प्रस्तुत गरेको कम्पनीले जनाएको छ । ट्याब एस–११ हाल बजारमा एक लाख २९ हजार नौ सय ९९ रुपैयाँमा (१२ जीबी ¥याम÷२५६ जीबी) उपलब्ध छ । कम्पनीका अनुसार वन यु–आई ८ भित्र नै समावेश गरिएको ग्यालेक्सी एआई क्षमताले लेखन, चित्रण, मल्टिटास्किङ तथा विचार आदान–प्रदानजस्ता कार्यहरूलाई सहज र प्राकृतिक बनाउँछ । जेमिनी लाइभ, ड्रइङ असिस्ट, राइटिङ असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाहरूले प्रयोगकर्तालाई सहज बनाउने जनाइएको छ ।
११ इन्चको एचडी डायनामिक प्रदर्शन र ३ न्यानोमिटर प्रविधिमा आधारित अत्याधुनिक प्रोसेसरसहितको यो ट्याब्लेटले तीव्र प्रदर्शन, ऊर्जा–दक्षता र व्यावसायिक–स्तरको दृश्य गुणस्तर प्रदान गर्नेछ । यसको अल्ट्रा–स्लिम डिजाइन र सुधारिएको एस–पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ क्षमताले यसलाई यात्रा वा फिल्ड कार्यका लागि पनि उपयुक्त बनाएको छ । उत्पादकता सुधारका पक्षमा सामसङले नयाँ डेक्स विस्तारित मोड समावेश गरेको छ, जसले ट्याब्लेट र मोनिटरलाई दुईवटा कार्य–स्क्रिनका रूपमा प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । साथै, ट्याबमा गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, लुमाफ्युजन र नोसनजस्ता लोकप्रिय सिर्जनात्मक तथा उत्पादक एपहरूसँग प्रत्यक्ष अनुकूलता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ट्याब एस–११ अहिले देशभरका अधिकृत सामसङ खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध छ । ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ता (ईएमआई) सुविधासहित ट्याब्लेट खरिद गर्न सक्नेछन् ।