काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ । वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीले यो अफर प्रयोग गर्न पाउनेछन् ।
देशैभर इन्टरनेट सेवाको उपयोग र माग तीव्रगतिमा विस्तार हुँदै गएकाले विद्यार्थीमा समेत उच्च गुणस्तरीय तथा किफायती इन्टरनेट सेवाप्रति विशेष चासो र आकर्षण बढ्दै गएकोले कम्पनीले यो अफर ल्याएको हो । उक्त अफरको टेलिकम केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्री खरेलले आर्थिकरुपले सक्षमता नभएका विद्यार्थीका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेको बताए ।
फाइबर सेवाका ग्राहक वृद्धिका लागि बजारीकरणका उपायहरु अपनाउन आग्रह गर्दै उनले सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशन समेत दिए । कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् । साथै, राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिइन् ।
२०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफरअन्तर्गत करसहित चार हजार नौ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, यसमा साविकबमोजिमको जडान शुल्क पाँच सय रुपैयाँ थप लाग्नेछ । अफरको साथमा विद्यार्थीले एक थान ड्अल ब्यान्ड सीपीई र बढीमा एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् ।
यस अफरअन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भएपश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने कम्पनीले जनाएको छ । सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरुमध्येबाट आफ्नो आवश्यकताबमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यस अफरअन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज समाप्त भएपश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा सुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ । अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ विद्यार्थी परिचय पत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्रको प्रतिलिपि, नाबालिगको हकमा अभिभावकको नागरिकत्ताको प्रतिलिपि अनिवार्यरुपमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।