काठमाडौं । इनड्राइभले नेपालमा नयाँ क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाइँकै रोजाइमा’ सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्यमान्यताहरु स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई उजागर गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार अभियानको मुख्य भूमिकामा कलाकार स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । यसमार्फत इनड्राइभले स्वतन्त्रता, मौलिकता र सशक्तीकरणलाई प्राथमिकता दिने नेपाली युवापुस्तासँग अझ गहिरो सम्बन्ध कायम गरेकोे दाबी गरेको छ । ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ भन्ने सन्देशले इनड्राइभको ‘पिपुल फस्र्ट’ दृष्टिकोणलाई बलियो बनाउने जनाईएको छ । यस अभियानसँगै इनड्राइभले नेपालमा अर्बन कम्युनिटीलाई पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ ।
यो अभियानले कम्पनीको पियर–टु–पियर मोडललाई आत्मसात गर्दछ, जसले यसलाई विश्वकै सबैभन्दा पारदर्र्शी राइड–हेलिङ प्लेटफर्मको रूपमा चिनाउँछ । अरु प्लेटफर्मभन्दा भिन्न रहेर इनड्राइभले यात्रु र चालक दुवैलाई समान सशक्तीकरण प्रदान गर्दै आपसी सहमतिमा भाडा तय गर्ने स्वतन्त्रता प्रदान गर्ने गरेको छ । यस मोडलअन्तर्गत यात्रुहरुले आफ्नै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारीको मोडल, चालकको रेटिङ, र आउन लाग्ने समयका आधारमा उपलब्ध प्रस्तावहरू मध्ये रोजेर राइड लिन सक्छन् ।