काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीलाई आईजीपीमा नियुक्त गरिएको हो।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा हुने भएकाले हालका महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएको हो।
२४ भदौमा भएको जेनजी आन्दोलनका बेला कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन अवस्थामा थियो। उपत्यका कमाण्ड सम्हाल्नु अघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख थिए।
डीआईजी हुँदा कार्कीले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एसएसपीको जिम्मेवारीमा रहँदा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए। सो समयमा चर्चित भुटानी शरणार्थी प्रकरण चलिरहेको थियो।
चुनौतीपूर्ण क्षेत्रहरूको कमाण्ड सम्हाल्दै आएका कार्की इमानदार, दृढ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनी कुनै ठूलो आर्थिक विवादमा नपरेका अधिकारीका रूपमा पनि चिनिन्छन्।
फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव बटुलेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत भइसकेका छन्। विदेशमा विभिन्न उच्चस्तरीय तालिम प्राप्त गरेका उनले व्यावसायिकता र निष्ठाका कारण प्रहरी संगठनभित्र राम्रो छवि बनाएका छन्।