काठमाडौं । गत आइतबारको अंकमा आर्थिक दैनिकमा ठमेलको बज बारमा व्यवसायको नाममा प्रहरीसँगको मिलेमतोमा भएको धन्दाबारे समाचार छापिएपछि पत्रिकाविरुद्ध ज्यान मार्ने धम्की आएको छ । सोमबार बिहानैदेखि उही बिल्डिङमा रहेको ओसिस क्लबको नाममा आर्थिक दैनिकसम्बद्ध पत्रकारलाई ‘काट्छु, मार्छु, खुट्टा भाँच्छु’ भनेर धम्की आएको हो ।
त्यसरी धम्क्याउने व्यक्तिले पत्रकारहरुको ‘लोकेसन’ समेत सोधेका छन् । उनीहरुले प्रहरी लगाएर थुन्ने, यातना दिने, मुद्दा लगाउने भन्दै तर्साएका छन् । सोमबार बिहानैदेखि ओसिस क्लबको नाममा आफूलाई खड्का बताउने व्यक्तिहरुले ९८०९३१७७८२ र ९८४८५६१६१२ नम्बरबाट धम्की दिएका हुन् । ओसिस क्लब र बज बारको साइन बोर्ड एकै ठाउँमा जोडिएको रहेछ र बज बारको फोटो खिच्दा ओसिस बारको पनि अलिक धमिलो फोटो पत्रिकामा छापिएको रहेछ । सामान्यतया बज बारको समाचार छापिएकाले सबैका आँखा बज बारकै फोटोमा परेको छ । तर ओसिस क्लबको फोटो किन छापियो भन्ने उनीहरुको गुनासो हो भने त्यसलाई अन्यथा मान्य सकिँदैन । ‘त्यही गुनासो हो भने लेखेर पठाइदिनुस्’ भन्दा अत्यन्त निकृष्ट, अश्लील शब्दहरु प्रयोग गरेर ओसिस क्लबको नाममा फोन गर्ने खड्काहरुले ‘लेखेर केही पनि नदिने, सोहखुट्टेको डिएसपी साब जागेश्वर भण्डारीले पनि ठोके हुन्छ भन्नुभएको छ, तँलाई ठोकेर ठिक पार्ने, खुट्टा भाँचिदिने, जे–जे गर्नुपर्छ गर्ने हो, अनि हामी को हो भन्ने थाहा पाउँछस्’ भनेर धम्क्याएका हुन् ।
उनीहरुलाई आर्थिक दैनिकले ‘तपाईंको गुनासो के हो लेखेर पठाउनुस्, अफिस आउनुस्’ भन्दा ‘पहिला अफिस आउँछौँ’ भन्ने खड्काहरुले पछि ‘अफिससफिस थाहा छैन के गर्न पर्छ भन्ने मात्रै थाहा छ’ भनेर धम्काएका थिए । बज बार र ओसिस क्लब ठमेलको नर्सिङ चोकबाट दुर्गालाल मागको एउटै घरमा रहेका छन् । एउटा कम्पनी कसरी राखिनुपर्छ भन्ने पनि त्यहाँ ख्याल गरिएको छैन । दुवै बार र क्लबको साइनबोर्ड नजिकै रहेका छन् । बज बारको बदमासीको समाचार छाप्दा ओसिस क्लबलाई त्यसमा मुछ्ने नियत आर्थिक दैनिकको थिएन । ओसिस क्लब र बज बार एआर कम्प्लेक्सको तल्लो र माथिल्लो तलामा रहेका छन् । तर पनि ओसिस क्लबको नाममा फोन गर्ने खड्का भन्ने व्यक्तिहरुको नियत समस्या समाधान खोज्नेभन्दा पनि निहुँ खोज्नेतर्फ केन्द्रित देखिएको छ ।
बज बारले गत ५ गते ठमेल घुम्न गएका चार भारतीयहरुलाई सडकमा हिँडिरहेको अवस्थामा सहयोग गर्ने नाममा सडकबाट भित्र छिराएका थिए । भित्र लगेपछि उनीहरुसँग भएको सबै रकम लुटेर लिएका थिए । त्यतिले मात्र नपुगेर दुई भारतीय पर्यटकसँग पचास–पचास हजार भारतीय रुपैयाँ भारतीय बैंकको पेटीएममा ट्रान्सफर गर्न लगाएर छाडेका थिए । उनीहरुले ती पर्यटकलाई आफूले मागेको रकम नदिए प्रहरी लगाएर रेप केसमा फसाइदिने डर त्रास देखाएका थिए । बज बारका लगानीकर्ता हिमशिखर मल्ल र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी जागेश्वर भण्डारी एउटै भेगका व्यक्ति हुन् । सोही कारण ठमेलमा उनीहरुको कमाउधन्दाको स्वार्थ मिलेको छ । राजनीतिकरुपमा मल्ल नेकपा एमालेको भातृ संगठन युवा संघसँग सम्बन्ध रहेका व्यक्ति हुन् । उनले राजनीतिक मञ्चमा परिवर्तन, विकास, समृद्ध, सामाजिक रुपान्तरणको भाषण गर्ने गरे पनि व्यवहारमा त्यसको नाममा गर्ने हर्कत उदांगो भएको छ ।
उनको बज बार रहेकै कम्प्लेक्समा ओसिस क्लब सञ्चालन गर्ने व्याक्तिचाहिँ उनै खड्का दाजुभाइ हुन् कि अरू नै छन्, उनीहरु नै जानून् ! तर फोनबाट धम्क्याउने खड्का दाजुभाइचाहिँ कैलालीका हुन् । राजनीतिकरुपमा विघटित नेकपा माओवादी केन्द्रसँग सम्बन्ध रहेका छन् । उनीहरुले मल्लसँग व्यावसायिक सु–सम्बन्ध फायल राखेर क्लब सञ्चालन गर्दै आएका छन् । केही समयअघिसम्म अकै नाम भए पनि अहिले त्यहाँ ओसिस क्लब सञ्चालनमा रहेको छ । बज बार र ओसिस क्लबले सडकमा देखाउने गरको हर्कतबाट त्यहाँका स्थानीय पसले व्यवसायीहरुचाहिँ आजित भएका छन् ।
उनी कसैले मुख फोरेर बोल्न सकिरहेका छैनन् । तर क्लब र बारका नाममा दलाली गर्न सडकमा उभिने व्यक्तिहरुले बटुवा पर्यटकहरुसँग गर्ने गरेको हर्कत देख्दा आफैँ लज्जित हुनुपरेको बताउँछन् । त्यस क्षेत्रमा धेरैजसो पस्मिनाका पसल रहेका छन् । साँझ ५ बजेपछि त्यो बाटो हिँड्दा पनि जोगिएर हिँड्नुपर्ने अवस्था रहेका छ । बाटो हिँड्न पर्यटकहरुलाई तरुनी मसाज, आच्छाआच्छा लड्की हेप्पी इन्डिङजस्ता शब्दावली कानकानमा भनेर बटुवालाई तानेरै लैजाउँला जस्तो गर्ने दलाल र उनीहरुका गार्ड सडकमा छोडिएका हुन्छन् ।
छोराछोरी परिवार लिएर साँझको समयदेखि रातिसम्म त्यसबाटो हिँड्नु नै लाजमर्दो मानिन थालेको छ । उनीहरुका हर्कतले गर्दा त्यहाँ प्रायःजसो सडक जाम हुने गर्छ । तर त्यही अगाडि नर्सिङ चोकमा हरदम खडा हुने भ्यानसहितको प्रहरी त्यसलाई देखेको नदेख्यै गरी मुन्टो बटारेर बस्ने गर्दछ । स्थानीय व्यापारीहरुका अनुसार ती दुई बार र क्लबमा आउने व्यक्तिहरुले पसल अगाडि त्यही सडकमा मोटरसाइकल राखेर जाने गर्छन् । त्यसलाई त्यहाँ नराख भनेर कुनै पसलेले भन्ने आँटसम्म पनि गर्दैन । त्यसो गर्दै उसले धम्की खानुपर्नेहुन्छ । ती मोटरसाइकलमा ट्राफिकले अघिअघि आएर ह्विल लक गर्दै जान्छ ।
अर्को ट्राफिक पछिपछि पैसा लिँदै ह्विल लक गर्दै जान्छ, अर्को ट्राफिक पछिपछि पैसा लिँदै ह्विल लक खोल्दै जान्छ, त्यसो सबैका अगाडि हाकाहाकी हुँदै आएपछि त्यसका विरुद्ध कसैले बोल्ने हिम्मत गरेका छैनन् । त्यो कुकर्मको संयोजन पनि उनै समाज सुधारक नेता भनिएका व्यक्तिले चलाएका बार र क्लबका आउरेबाउरेहरुले गर्ने गरेका छन् । स्थानीय व्यापारीहरुका अनुसार त्यहाँ गरेका यी देखिने हर्कत हुन भने उनीहरुले उक्त बारको नाममा नदेखिने हर्कत पनि सञ्चालन गर्दै आएका छन् ।
त्यहाँबाट ग्राहकलाई अन्यत्र गोप्य ठाउँमा लगेर सेवा दिने र असुल्ने धन्दाका बारेमा उनीहरुले ग्राहकलाई केटी भिडाएर ब्ल्याक मेल गर्ने गर्दै आएका छन् । बज बारको कात्तिक ५ गते पनि त्यही गरेको थियो । त्योधन्दा प्रहरीको जानाकारीमै हुने गरेकाले कोही पनि कारबाहीमा नपर्ने गरेका छन् । तर उनीहरुको धन्दा निर्वाध चल्दै आएको छ । आइतबारको समाचारले उनीहरुको त्यो धन्दामा असर पर्ने देखिएपछि बज बारको बदमासीको सप्रमाण समाचार छाप्दा ओसिस क्लबबाट पत्रकारलाई काट्ने मार्ने धम्की आएको हो ।