काठमाडौं । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था पनि खस्किएको छ । पछिल्लो समय भएको जेन–जी आन्दोलन र मुलुकको असहज आर्थिक अवस्थाकै कारण फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर बनेको हो ।
सञ्चालनमा रहेका १७ फाइनान्समध्ये हालसम्म १४ वटाले चालू आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये सातवटा फाइनान्स कम्पनीहरु खुद नोक्सानीका साथै उच्च निष्क्रिय कर्जा (एनपीएल)ले ग्रस्त देखिएका हुन् ।
विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा मञ्जुश्री फाइनान्सले चार करोड ६३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्सले नौ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय थियो ।
यता गुडविल, आईसीएफसी र सेन्ट्रल फाइनान्सले पहिलो तीन महिनामा क्रमशः तीन करोड ७३ लाख ८४ हजार, दुई करोड २४ लाख ५५ हजार र एक करोड ८४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीहरुमा क्रमशः छ दशमलव ३३, दुई दशमलव ७७ र १२ दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः चार करोड ९५ लाख १३ हजार, छ करोड ८८ लाख र चार करोड ९५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९१, तीन दशमलव ६९ र पाँच दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी, मल्टीपर्पस र श्री इन्भेस्टमेन्ट फाइनान्स क्रमशः एक करोड ३५ लाख ६७ हजार र ३४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः छ दशमलव ९३ र तीन दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको पहिलो त्रैमासिकमा यी फाइनान्स कम्पनीहरुले क्रमशः एक करोड ४७ लाख ७४ हजार र ४१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९७ र तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यसबाहेक जानकी फाइनान्सले पनि १८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाउँदा ५३ दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले दुई करोड ३० लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा ३८ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । उता, गोर्खाज, समृद्धि र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले भने यो अवधिमा क्रमशः चार करोड २४ लाख १५ हजार, दुई करोड १७ लाख २० हजार र तीन करोड सात लाख ६६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । यी कम्पनीहरुमा क्रमशः पाँच दशमलव ४४, नौ दशमलव ६७ र आठ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमध्ये गोर्खाजले तीन करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा समृद्धि र गुह्ेश्वरीले क्रमशः १८ करोड २० लाख चार हजार र ११ करोड ३३ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । उक्त अवधिमा यी फाइनान्सहरुमा क्रमशः तीन दशमलव ३२, २३ दशमलव ४७ र १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यस्तै, रिलायन्स र नेपाल फाइनान्सले यो अवधिमा १६ करोड ४८ लाख २७ हजार र पाँच करोड ९५ लाख ६० हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः १० दशमलव ६७ र १३ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुले क्रमशः पाँच करोड ७४ लाख ५५ हजार र दुई करोड ४० लाख एक हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः आठ दशमलव ५८ र १० दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
प्रोग्रेसिभ र बेस्ट फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः तीन करोड ९० लाख ८० हजार र चार करोड ४७ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा क्रमशः छ दशमलव ६७ र १० दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुईमध्ये प्रोग्रेसिभले आठ करोड नौ लाख ४० हजार रुपैयाँ नाफा कमाउँदा बेस्टले ८६ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । यस अवधिमा यी फाइनान्सहरुमा क्रमशः सात दशमलव ४७ र तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।