काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बीमा ऐन, २०७९मा व्यवस्था भएबमोजिम बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनका सम्बन्धमा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी रायसुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बीमा क्षेत्र व्यापकरूपमा विस्तार हुँदै गएको सन्दर्भमा बीमासम्बन्धी छरिएर रहेका सूचनाहरूलाई एकीकृत गर्न र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गर्न केन्द्र आवश्यक भएको बताए ।
बीमा सूचना केन्द्रको स्थापनाबाट बीमक, बीमितलगायत सबैको हित हुने उल्लेख गर्दै अध्यक्ष शर्माले बीमा क्षेत्रलाई बढी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सम्बद्ध सबैका सुझावहरू समेतका आधारमा कानुनबमोजिम बीमा सूचना केन्द्र स्थापनाको कार्य छिट्टै अगाडि बढाउने जानकारी दिए । अध्यक्ष शर्माले बीमा सूचना केन्द्र स्थापना गर्दा केन्द्रको संरचना, मोडालिटी र सञ्चालन आयाम कस्तो हुने भन्ने सम्बन्धमा व्यावहारिक राय सुझावहरू दिन बीमकहरूसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले विज्ञका रूपमा बीमा सूचना केन्द्र स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दैै बीमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना, जानकारी र विश्लेषण उपलब्ध गराउन बीमा सूचना केन्द्रको स्थापना आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष बीरेन्द्र बैदवार र नेपाल जीवन बीमक संघका अध्यक्ष प्रवीणरमण पराजुलीले बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बीमा सूचना केन्द्र स्थापना गर्न सहभागीहरूबीच सहमति समेत भएको छ ।
साथै, छलफलका क्रममा आएका राय सुझावहरू समेटी प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी बीमा सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाउने जानकारी पनि गराइएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले गरेको थिए ।