काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले बुधबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी वार्तापछि सो समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ ।
वार्तामा प्रसाईं स्वयं सहभागी नभए पनि वार्ताका लागि उनको समूहबाट गएका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतका विषय मागपत्रमा समेटिएका छन् । प्रसाईंले संविधान खारेजीदेखि प्रदेश संरचना खारेजी हुनुपर्ने सम्मका माग राखेका छन् ।
मंसिर ७ गतेदेखि देशभर चरणबद्ध प्रदर्शन गर्ने प्रशाईले घोषणा गरेपछि गृह मन्त्रालयले उनलाई वार्ताका लागि बोलाएको थियो । खतिवडाले आफूहरूका मागका बारेमा वार्तामा सामान्य छलफल भए पनि सहमति नभएको बताउँदै सरकारले आफूहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाए पूर्वघोषित आन्दोलन फिर्ता लिने बताए ।