कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा बुधबारदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तर्क्रिया’ को समापन समारोहमा मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारहरूको सहकार्य र समन्वयको अभावले नागरिक असन्तुष्टि बढ्दै गएको राससलाई बताए ।
दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताउँदै उनले भने, “भूगोल सबैको एउटै हो । त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुन सकेमात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् । अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्छ ।”
आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहारमा पछिल्लो समय सुधार भएको उनको भनाइ थियो । दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थन पाउनेगरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।
मुख्यमन्त्री कँडेलले भने, “जनताको विश्वास जित्ने गरी काम गर्न सकेमात्र राजनीति बलियो हुन्छ । हामी आफ्नो आम्दानी बढाउने गरी गच्छेअनुसारको सरकार चलाउने व्यवस्थामा छौँ ।”
प्रदेश र स्थानीय दुवै सरकारको विकास र जनसेवा गर्ने उद्देश्य भएकाले प्रतिस्पर्धा होइन नभई सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । दुईदिने अन्तर्क्रियामा दश जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख र उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित कर्णाली सरकारका प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।