काठमाडौं, मातृभूमि जागरण अभियानका संयोजक तथा एमालेका वरिष्ठ नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै वरिष्ठ नेताहरूलाई पार्टी छाड्न भनेको दाबी गरेका छन्।बुधबार आयोजित कार्यक्रममा बोल्दै रावलले ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायत नेताहरूमाथि दबाब सिर्जना गरेको आरोप लगाए।उनले भने, “ओलीजीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अन्य नेताहरूलाई पार्टी छोड भनेर नै भनेका छन्। अहिले उहाँले ती नेताहरूलाई पार्टीबाट निकाल्ने योजना बनाइरहनुभएको छ।” रावलले आफूले विगतमा ओलीसँग पुनः सहकार्य गर्ने निर्णय “१० बुँदे सहमति कार्यान्वयन” हुने विश्वासका आधारमा गरेको तर त्यो विश्वास गलत सावित भएको बताए।“मैले त विश्वास गरेको थिइनँ,” उनले भने, “तर मसँगै हिँडेका ९ जना भाइहरूले ओलीले भनेको सत्य हो भनेपछि म सामूहिक रूपमा बसेँ। अधिवेशन आएपछि उहाँले मलाई ‘चुप लाग, मेरो अघि नबोल’ भनेर नै भने।”त्यस्तै उनले सर्वोच्च अदालतबाट नेकपा (एमाले र माओवादी) विभाजनको आदेश गराउन पनि ओलीकै हात रहेको आरोप लगाए। “नेकपा विभाजन गराउने आदेश पनि ओलीजीकै हातले आएको हो,” रावलले भने, “त्यो पार्टी एकताको समाप्तिको सुरुवात थियो।”रावलले अहिलेको एमाले नेतृत्वले पार्टीको सामूहिकता र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई नष्ट गरेको आरोप पनि लगाए।