काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीअन्तर्गतको ६० प्रतिशत काम पूरा भएको जनाएको छ ।
निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार भएको छलफलमा आयोगका पदाधिकारीले उक्त जानकारी गराएका हुन् । छलफलमा आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने जानकारी गराएको हो । आयोगमा दर्ता रहेका र कम्तीमा वडा सदस्यसम्म विजय भएका दलसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको भण्डारीको भनाइ थियो ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको बताए । आयोगले आफ्नोे अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ । यस्तै, राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ ।
निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूले निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन् । यस्तै, निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राखेकी थिइन् । निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसँग समेत छलफल गरेकी हुन् ।