काठमाडौं । राइड सेयरिङ एप याङ्गो नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा लुम्बिनी लायन्सको मुख्य प्रयोजक बनेको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले याङ्गोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गरिएको बताए । उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी याङ्गोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ । नेपाली क्रिकेटको जोस, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले याङ्गोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौँ ।’ लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि याङ्गो नेपालका प्रतिनिधिले क्रिकेट नेपालमा सबैको प्रिय खेल भएको बताए । ‘हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौँ र उनीहरूलाई आगामी नेपाल प्रिमियर लिगका लागि शुभकामना दिन्छौँ । हामी विश्वस्त छौँ कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन्’, उनले भने । याङ्गो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्ने गरेको छ ।