काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले औपचारिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। कात्तिक २८ गते मितिको पत्रमार्फत उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै रास्वपाबाट आफ्नो राजनीतिक यात्रा अन्त्य भएको जानकारी दिएका हुन्।
परियारले राजीनामा पत्रमा रास्वपामा रहँदा जनताप्रतिको सेवा, नयाँ पुस्तालाई राजनीतिक यात्रामा प्रेरित गर्ने अवसर र पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन्। उनले विकल्प खोजिरहेका जनताका बीच नयाँ राजनीतिक अभ्यास बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै रास्वपाले आफ्नो योगदानलाई मूल्यांकन गरेको उल्लेख गरेका छन्।
तर, पछिल्लो राजनीतिक परिस्थितिमा मुलुकको परिवर्तनका लागि नयाँ ढंगले योगदान गर्नुपर्ने परिस्थितिले आफूलाई फरक दिशातर्फ अगाडि बढ्न प्रेरित गरेको परियारको भनाइ छ। उनका अनुसार, नेपालको राजनीतिको पुनर्संरचना, अनुसन्धान, वैचारिक पुनर्व्याख्या र संगठनगत पुनर्निर्माणमा नयाँ पुस्ताको ऐतिहासिक भूमिका आवश्यक भएकै कारण आफू नयाँ अभियानमा जुट्न लागेका हुन्।
परियारले पत्रमा लेखेका छन्—
“हाम्रो पुस्ताले आफ्नो कन्धामा बोकेको राजनैतिक जिम्मेवारीलाई पूरा गर्ने क्रममा अब नयाँ राजनीतिक आन्दोलनमा सहभागी भएर योगदान गर्न पाउँदा सुन्दर भविष्य निर्माणमा मद्दत पुग्नेछ।”
कात्तिक २८ गतेदेखि रास्वपाको साधारण सदस्यसमेत नरहने घोषणा गर्दै उनले पार्टी नेतृत्व, कार्यकर्तातर्फ कृतज्ञता व्यक्त गरेका छन्। पार्टीभित्र रहँदा पाएका अवसर, विश्वास र सहकार्यबारे परियारले प्रशंसा गरेका छन्।
परियार हाल पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वमा अघि बढाइँदै आएको ‘प्रगतिशील राष्ट्रिय अभियान’ सँग जोडिने चर्चामा छन्। उनको पत्रमा अभियानको नाम उल्लेख नभए पनि राजनीतिक पुनर्संरचनातर्फ जाने संकेत स्पष्ट देखिन्छ।
रास्वपाबाट पछिल्लो समय निरन्तर नेताहरू बाहिरिन थालेसँगै पार्टीभित्र वैचारिक बहस र असन्तुष्टि तीव्र बन्दै गएको विश्लेषण राजनीतिक वृत्तमा सुरु भएको छ।