राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीच आगामी मङ्सिर ७ गते एकता घोषणा हुने भएको छ। नेसपा नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका सुदन किराती तथा परियारबीच एउटै राजनीतिक दल बनाउने सहमति जुटेको छ। एकता तथा ध्रुवीकरणको नयाँ प्रयासअन्तर्गत गठन हुने पार्टीको नाम र चुनाव चिन्ह समेत एउटै राख्ने तयारी भइरहेको बताइएको छ। नयाँ एकीकृत संरचनाले देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिहरू—विशेषगरी जेनजी पुस्तालाई—बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेको छ। भ्रष्ट, अनैतिक र अहंकारी राजनीतिक प्रवृत्तिलाई निर्वाचनमार्फत परास्त गर्न सबै नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई एकताबद्ध हुन पनि उक्त पक्षले अपिल गरेको छ।