काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणाको जावलाखेलस्थित निजी निवासमा छापा मार्न जानुअघि नै छापा मार्न जाने सीआईबी टोलीबाटै सूचना लिग भएको घटना अहिले आफैँ अनुसन्धानयोग्य विषय बनेको छ ।उनी आरजुका हरेक नियुक्ति, सरुवा–वढुवा, सरकारी ठेक्कापट्टा तथा सम्झौता संकलकका रुपमा प्रचारित पात्र हुन् । सीआईबीले स्थानीय प्रहरीको सहयोगमा गत असोज १२ गते राणाको घरमा घेरा हाली छापा मारेको थियो । त्यसको नेतृत्व सीआईबीमा कार्यरत विवादस्पद डीएसपी सत्यनारायण थापाले गरेका थिए । थापा सीआईबीमा जानुअघि प्रहरी वृत्त सोरखुट्टेमा र त्यसअघि अपराध अनुसन्धानमा थिए । यी ठाउँमा हुँदा पनि उनी यसैगरी आर्थिक अपराधका विभिन्न घटनामा जोडिएका थिए । ललितपुर टौदहका स्थानीय थापा नेपाल प्रहरीभित्रका एक बेइमान र बदनाम अधिकृतमध्ये पर्छन् । उनी यसअघि सोह्रखुट्टेमा हुँदा अतिरिक्त आम्दानीका लागि गरेको बेइमानीको घटनामा हालका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग समेत प्रत्यक्ष जोडिएका थिए । त्यसमा डीएसपी थापाले कार्कीको आदेश अस्वीकार गरेको घटना अझै चर्चाको विषय बन्दै आएको छ । स्वार्थका लागि सत्ता र शक्तिको चाकरीमा कुनै कसर बाँकी नराख्ने डीएसपी थापा त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको चाकरीमा समेत पुगेका थिए । अहिले उनी सीआईबीमा रहेको बेला बज्राचार्यविरुद्धको नक्कली भुटानी शरणार्थी काण्डको फाइल खुल्दै गर्दा त्यहाँको सूचना अग्रीमरूपमा कहाँ–कहाँ पुग्यो, त्योचाहिँ सोचनीय विषय बनेको छ ।