काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सबै तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पत्रकार सम्मेलन गरि सबै तयारी पूरा भएको जनाएको हो । क्यानका सचिव पारस खड्काले प्रतियोगिता मंसिर १ गतेदेखि सुरु हुने जानकारी दिए । यसपटकका खेलहरू पहिलोपटक फ्लडलाइटमा सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई थप आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले डे–नाइट खेलको व्यवस्था गरिएको छ ।
यसपटक पनि पुरस्कार राशि पहिले जस्तै कायम गरिएको उनले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, तेस्रो र चौथो स्थान हात पार्ने टोलीहरूले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।क्यानले दोस्रो संस्करणबाट करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानका सचिव खड्काका अनुसार प्रायोजक, टिम ओनर, प्रसारण अधिकार र टिकट बिक्रीमार्फत उक्त रकम संकलन हुने अपेक्षा गरिएको छ ।
डिसहोम गोसँग ओटीटी प्रसारणका लागि ५ करोड ३० लाखमा सम्झौता भएको र उक्त आम्दानीमा क्यानको ७१ प्रतिशत हिस्सेदारी रहने उनले बताए । यस्तै लिनियर टेलिभिजन प्रसारणका लागि न्यूनतम एक करोड रुपैयाँको प्रस्ताव प्राप्त भइसकेको क्यानले जनाएको छ । यसका अतिरिक्त टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । एनपीएलको दोस्रो संस्करणमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् र खेलाडीहरू क्रमशः काठमाडौं आउनेक्रम जारी छ । उद्घाटन खेल मंसिर १ गते अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ भने मङ्सिर २७ गते फाईनल खेल हुनेछ ।