आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन दुई को ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रूपमा कार्य गर्ने भएको छ । एनपीएलमा आईएमई मोटर्सअन्तर्गतका लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउनेछन् ।
पावर पार्टनरको रूपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउनेछ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रूपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउनेछ । त्यसैगरी ट्राभल पार्टनरको रूपमा अशोक लेल्यान्डले बसलगायतका सवारीसाधन उपलब्ध गराउनेछ । इभेन्टसँग सम्बन्धित खेलाडी, अम्पायर ओसारपसार कार्यमा यी सवारीसाधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभर समेत कम्पनीले उपलब्ध गराउनेछ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशील सुवेदीले हस्ताक्षर गरेका छन् ।
यसअनुसार ‘ट्राभल पार्टनर– अशोक लेल्यान्ड’ र ‘ब्याकअप पावर पार्टनर – लेपावर’को रूपमा पहिचान गरिनेछ । त्यसैगरी खेलको बीचमा हुने स्ट्राटेजिक टाइमआउट ब्रेकलाई पनि ‘अशोक लेल्यान्ड स्ट्राटेजिक टाइमआउट ब्रेक’ भनिनेछ । आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ । त्यसैगरी अशोक लेल्यान्डका पिअकपदेखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बसलगायतका विभिन्न सवारीसाधन उपलब्ध छन् ।