काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकामा चार वटा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ ।
यसवर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान घोषणा गरेको हो । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत दुई हजार छ सय १२ विद्यार्थीहरु लावान्वित भएका थिए । यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल छ सय ५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका दुई हजार छ सय १२ सहित एनसेलले देशभरका नौ हजारभन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवद्र्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ ।
विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ ।