काठमाडौं । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’बाट सम्मानित भएका छन् । एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)ले असोसियो डिजिटल समिटको अवसर पारी नेपालका संस्थाहरूलाई अवार्ड प्रदान गरेको हो ।
इमार्क प्रालिले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ भने आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड मदन भण्डारी मेमोरियल कलेजले पाएको छ । डिजिटल गभर्मेन्ट अवार्ड निन्जा इन्फोसिस प्रालिले जित्न सफल हुँदा ट्यालेन्ट डेभलपमेन्ट अवार्ड वर्डप्रेस नेपाल कम्युनिटीले प्राप्त गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईस्पान)ले साइबर सेक्युरिटी अवार्ड जितेको छ भने एडुटेक इन्टरनेसनल प्रालिले स्टार्टअप अवार्ड हात पारेको छ । त्यस्तै, अनलिमिटेड टेक्नोलोजी प्रालिले ग्लोबल बिजनेस सर्भिस अवार्ड हात पार्न सफल भएको छ । नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का सिफारिसमा सहभागी यी संस्थाले ताइवानको ताइपेइमा आयोजित समिटमा यी विधामा अवार्ड हात पारेका हुन् । क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो ।