काठमाडौं । पार्किङ अभाव भएको भन्दै केही दिनअघि भारत डाइभर्ट भएकोमा आलोचना खेपेको नेपाल वायुसेवा निगमले अबदेखि काठमाडौंबाट डाइभर्ट हुनुपरेको अवस्थामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ ।
निगम सञ्चालक समितिको बैठकले मंसिर ३ देखि लागू हुने गरी भैरहवा विमास्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट हुँदै आएको छ ।
सोमबारको निर्णयसँगै निगमको जहाज डाइभर्ट हुनुपरे अबदेखि भैरहवा जाने उनले जानकारी दिए । ‘मंसिर ३ देखि लागू हुने गरी कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमबाट यही मंसिर १ मा निर्णय भएको छ’, प्रवक्ता घिमिरेले भने ।
यसरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ । यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय समेत भएको उनले बताए ।