काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्न भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागिएको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही मंसिर ३ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् अवधि नोभेम्बर २३, २०२५ देखि नोभेम्बर २३, २०२६ सम्म रहेको छ ।
लगानीको लागि छुट्याइएको कुुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकहरूका लागि ५२ करोड ९५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूको लागि १७ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
२६ खर्ब नाघ्यो राष्ट्र बैंकको कुल सम्पत्ति दायित्व
नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व २६ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले बढेर कुल सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँबराबरको पुगेको हो ।
प्रतिवेदनअनुसार आव २०८१/८२को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्यांकन लाभ हानी समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ । उक्त आयमध्ये राष्ट्र बैंकको विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने राष्ट्र बैंकको भनाइ छ ।