विराटनगर । सुनसरी–मोरङ्ग औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरूले राजस्व वृद्धि र आर्थिक क्रियाकलाप विस्तारमा जोड दिएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले कर दिवसको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले देश विकासको आधार नै पर्याप्त राजस्व संकलन भएको बताएका छन् । कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले आफूहरूले देशको राजस्व खातामा अधिकतम योगदान पुर्याउने संकल्प गरेका छन् । कोशी प्रदेश उद्योग वाणिज्य महासंघको राजस्व परामर्श समितिका अध्यक्ष तथा उद्योगी देवकीनन्दन अग्रवालले आफ्नो व्यवसायिक जीवनमा ‘कम कर तिर्ने’ सोच कहिल्यै नराखेको बताए । उनले भने, ‘हामीले धेरैभन्दा धेरै कर तिर्न सके देश स्वयं विकासको मार्गमा अघि बढ्नेछ ।’
त्यसैगरी मोरङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले भदौ २३–२४ गतेका जेन–छजी आन्दोलनले राजस्व कार्यालयसहित सरकारी निकायमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै अब सबैले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । आन्दोलनका कारण दुई दिनमै संघीय सत्ता परिवर्तन हुन पुगेको घटनालाई उद्योगीहरूले कर दिवसमा विशेषरूपमा स्मरण गर्दै यस्ता अस्थिरताले उद्योग, व्यवसायदेखि सरकारी संरचनासम्म मा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका थिए । उद्योग संगठन मोरङ्गका अध्यक्ष नन्दकिशोर राठी, उद्योग परिसंघका अध्यक्ष पवन सारडा तथा चार्टर्ड एकाउन्टेन्ट अश्विनी वंशलले आर्थिक गतिविधि र राजस्व वृद्धि एक–अर्काका परिपूरक रहेको भन्दै निजी क्षेत्रमैत्री कर नीति र करदातामैत्री वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा मोरङ्गका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आयकर, व्यापार तथा उद्योगतर्फ सर्वाधिक राजस्व बुझाउने एम.ए.डब्ल्यू. फायर प्रोटेक्सन, अम्बे ट्रेडिङ र हेल्थ एन्ड हाइजिन उद्योगलाई दोसल्ला र सम्मानपत्रसहित ‘उत्कृष्ट करदाता’ घोषणा गर्दै सम्मान गरेका थिए । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीको सभापतित्वमा कर दिवस कार्यक्रम आयोजना गरिएको थियो ।