पहाडी मुलुक नेपाल प्राकृतिक सुन्दरताको धनी देश हो । यो देश विविध संस्कृतिको मिश्रण र ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको छ । हिमाल, पहाड र तराईका मनमोहक दृश्यहरूले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । यिनै विशेषताले नेपाललाई विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एकका रूपमा स्थापित गरेको छ ।
नेपालको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण र बहुआयामिक छ । नेपालमा पर्यटनले अर्थतन्त्र, रोजगारी, सामाजिक परिवर्तन तथा भौतिक पूर्वाधार विकासमा निकै ठुलो योगदान पुर्याउँदै आएको छ । नेपालको हकमा पर्यटन विदेशी मुद्रा आर्जनको प्रमुख श्रोत मध्येको महत्वपूर्ण श्रोत हो । नेपालले विश्वव्यापी रूपमा चिनिने पर्यटन मार्ग—एभरेस्ट, अन्नपूर्ण, लाङटाङ, काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, लुम्बिनीको धार्मिक महत्व आदि—मार्फत् प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक आकर्षित गर्दछ। पर्यटकहरूले होटल, गेस्टहाउस, यातायात, खानपान, मनोरञ्जन, पर्वतारोहण शुल्क, राष्ट्रिय पार्क प्रवेश शुल्क आदि विभिन्न माध्यमबाट खर्च गर्ने गर्छन् । यी सबै खर्च नेपालका लागि विदेशी मुद्रा आयको महत्त्वपूर्ण स्रोत बनेको छ। विदेशी मुद्रा भित्रिने दर उच्च हुँदा नेपालको व्यापार घाटा कम गर्न, आयात–निर्यातको सन्तुलन कायम राख्न, तथा राष्ट्रिय मुद्रा स्थिर राख्न मद्दत पुग्छ। नेपाल जस्तो आयात–मुखी अर्थतन्त्रका लागि पर्यटनबाट आउने विदेशी मुद्रा आर्थिक स्थायित्वकै आधार मानिन्छ ।
पर्यटन क्षेत्रले नेपालमा रोजगारी सिर्जना र आय–आर्जनका अवसरमा पनि निकै ठूलो भुमिका खेल्ने गरेको छ । पर्यटन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो मात्रामा रोजगारी सिर्जना गरेको छ । होटल व्यवसाय, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड, पोर्टर, रेस्टुरेन्ट, ट्याक्सी सेवा, हस्तकला तथा स्थानीय कृषि तथा खाद्य सामग्री आपूर्ति गर्ने किसानहरू समेत यस क्षेत्रमा निर्भर हुन्छन् । नेपालमा विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा रोजगारीको अवसर अभाव रहेको अवस्थामा पर्यटनले स्थानीयलाई आर्जनको महत्वपूर्ण मार्ग बनिदिएको छ। उदाहरणका लागि, अन्नपूर्णा र एभरेस्ट क्षेत्रका साना गाउँहरू पर्यटनकै कारण आर्थिक रूपमा सबल बन्दै आएका छन्। स्थानीय युवाहरू परदेशमा निर्भर हुनुभन्दा आफ्नै गाउँ–बस्तीमै पर्यटनसम्बन्धी सीप सिकेरै जीविकोपार्जन गर्न सक्षम भएका छन् ।
अर्कोतर्फ भौतिक पूर्वाधार विकासमा पनि पर्यटन क्षेत्रको योगदान ठूलो रहेको छ । पर्यटन बिस्तारसँगै सडक, विमानस्थल, होटल, संचार, खानेपानी, ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता पूर्वाधारको विकास तीव्र हुन्छ। सरकार तथा निजी क्षेत्र दुवै मिलेर पर्यटक आकर्षित गर्नका लागि गुणस्तरीय पूर्वाधार निर्माणमा लगानी बढाउँछन् । जस्तै, पोखरा र लुक्ला विमानस्थल सुधार, राष्ट्रिय उद्यानहरूमा आवास सुविधा, तथा प्रमुख ट्रेकिङ मार्गहरूको स्तरोन्नति पर्यटनकै आवश्यकताबाट प्रेरित रूपमा भएका उदाहरण हुन्। पूर्वाधार विस्तारले केवल पर्यटक मात्रै होइन, स्थानीय बासिन्दाहरूको जीवनस्तर समेत उकास्छ । सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा पनि पर्यटन क्षेत्रका उल्लेख्य भुमिका खेल्दै आएको छ । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँका जातजातिका गीत, नृत्य, पहिरन, पर्व–उत्सव र बसोबास शैली स्वयंमा अद्वितीय छन् । पर्यटकहरू यिनै सांस्कृतिक समृद्धिबाट आकर्षित हुन्छन् । पर्यटनले स्थानीय परम्परा, हस्तकला, कला र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ। हस्तकला, परम्परागत नृत्य, स्थानीय परिकार, र सांस्कृतिक उत्सव पर्यटक आकर्षणका रूपमा विकास भएपछि स्थानीय समुदायले आफ्नो पहिचान, संस्कृति र इतिहासप्रति गर्व गर्न थाल्छन् । थुप्रै स्थानमा पुरातात्विक सम्पदाको संरक्षण, गुम्बा र मठहरूको पुनर्निर्माण तथा सांस्कृतिक कार्यक्रमहरूको नियमितता पर्यटनकै प्रभाव हो ।
पछिल्लो समय ग्रामीण विकास र सामुदायिक सशक्तिकरणमा पनि पर्यटन क्षेत्रको योगदान बढ्दै गएको छ । ग्रामीण पर्यटन, होमस्टे तथा सामुदायिक आधारित पर्यटन कार्यक्रमहरूले नेपालका दूरदराजका बस्तीहरूमा सकारात्मक परिवर्तन ल्याएका छन् । होमस्टे कार्यक्रमले स्थानीय महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन दिएको छ, किनकि उनीहरूले पर्यटकका लागि खाना, आवास र सांस्कृतिक अनुभव व्यवस्थापन गरेर आय–आर्जन गर्दै आएका छन्। सामुदायिक सहभागितामा सञ्चालन हुने यस्तो पर्यटनले गाउँ तहमा नै आर्थिक चक्र सिर्जना गर्छ, जसले गरीबी निवारणमा सहयोग पु¥याउँछ । अर्कोतर्फ, स्थानीय बासिन्दा पर्यटन उद्योगको सीधा लाभार्थी बन्ने भएकाले उनीहरू वातावरणीय संरक्षण, स्वच्छता, तथा सामुदायिक विकासमा बढी सक्रिय हुन थालेका छन् ।
पर्यटनले अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरण गर्नमा पनि भूमिका खेल्ने गरेको छ । पर्यटकहरू नेपाल भ्रमण गर्दा उनीहरूले नेपालको सौन्दर्य मात्र अनुभव गर्दैनन्, यहाँका सांस्कृतिक मूल्य, सहिष्णुता, मैत्रीपूर्ण आतिथ्यबोध र सामाजिक समरसता पनि बुझ्छन्। यसले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक छवि निर्माण गर्दछ । यसरी बनेको छवि कूटनीतिक सम्बन्ध बलियो बनाउन, अन्तर्राष्ट्रिय सहयोग आकर्षित गर्न तथा विदेशी लगानी प्रवाह बढाउन मद्दत गर्छ। पर्यटनमार्फत् हुने ‘पीपल टू पीपल’ सम्बन्धले मुलुकबीच विश्वास र सद्भाव वृद्धि गर्छ, जुन दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको आधार बनिदिन्छ । वातावरण संरक्षणमा पनि पर्यटन क्षेत्रको योगदान ठूलो हुने गरेको छ । यद्यपि, अत्यधिक पर्यटनले वातावरणमा नकारात्मक प्रभाव पार्ने आशंका रहन्छ, तर सही व्यवस्थापनसहितको पर्यटन वातावरण संरक्षणको प्रभावकारी माध्यम बन्न सक्छ । नियमित सफाइ कार्यक्रम, राष्ट्रिय उद्यानहरूको संरक्षण, वृक्षरोपण, स्थानीय वन्यजन्तु संरक्षण कार्यक्रम आदि पर्यटन आयबाट नै सञ्चालन हुने गरेका छन् । यसले वातावरणीय स्थायित्वलाई मजबुत बनाउँछ ।
सस्कृतीको संरक्षणमा पनि पर्यटन क्षेत्रको भुमिका रहन्छ । काठमाडौं उपत्यकाको विश्व सम्पदा क्षेत्र, पाटन–भक्तपुरका दरबार स्क्वायर, मठ–मन्दिर, तीर्थस्थलहरू विश्वकै आकर्षक स्थल हुन् । सांस्कृतिक पर्यटकलाई लक्षित गरेर ‘हेरिटेज वाक’, ‘हेरिटेज होटल’, सांस्कृतिक महोत्सव, स्थानीय कला–संगीत कार्यक्रममा लगानी गर्न सकिन्छ । नेपाल बञ्जी जम्प, राफ्टिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, पैरा–ग्लाइडिङ, अल्ट्रा–लाइट उडान आदि साहसिक गतिविधिको केन्द्रबिन्दु बन्दै गएको छ । एड्भेन्चर पर्यटनमा विश्वका युवा अत्यधिक आकर्षित हुने भएकाले यसले आय वृद्धि र ब्रान्ड भ्यालु बढाउने काम गर्छ । लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ लगायतका ठाउँ विश्वभरका हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि पवित्र स्थल हुन् । धार्मिक पर्यटनले मुलुकमा दीर्घकालीन, स्थिर र उच्च–गुणस्तरीय पर्यटक आकर्षित गराउने क्षमता राख्छ । नेपालमा योग, आयुर्वेद, ध्यान–मेडिटेसन तथा आध्यात्मिक उपचारका लागि आउने विदेशीहरूको संख्या बढ्दो छ । काठमाडौँ, पोखरा, लुम्बिनी र चितवनमा ‘योग–रिट्रिट’, ‘मेडिटेसन सेन्टर’ तथा ‘नैसर्गिक उपचार केन्द्र’ खोल्ने सम्भावना उच्च रहेको छ । यी संभावनाले गर्दा पनि नेपालको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका उच्च रहेको अनुमान गर्न सकिन्छ ।
नेपालको आर्थिक विकासमा पर्यटन एउटा भरपर्दो र दीर्घकालीन सम्भावनायुक्त क्षेत्र हो। यसले विदेशी मुद्रा आम्दानी, रोजगारी सिर्जना, ग्रामीण विकास, सांस्कृतिक संरक्षण, पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय छविमा महत्वपूर्ण योगदान पुर्याएको छ । तथापि, पर्यटन प्रवर्द्धन गर्दा दिगो विकासका सिद्धान्तको पालन, वातावरणीय संवेदनशीलता, स्थानीय समुदायको सहभागिता र पूर्वाधारको गुणस्तरमा जोड दिन अपरिहार्य छ। यदि नेपालले पर्यटन विकासलाई दीर्घकालीन, समावेशी र दिगो दिशामा लैजान सक्यो भने, यो क्षेत्र देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने प्रमुख माध्यम बन्न सक्छ ।